पोखरा, ८ माघ–विश्व कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणको लागि पोखरा आइपुगेका छन् ।
३५ खेलाडी सहितको ४४ जनाको टोली प्रशिक्षणको लागि पोखरा आएको कास्की जिल्ला फुटबल संघ (एन्फा) अध्यक्ष मिलन गुरुङले जानकारी दिए । कास्की फुटबल संघले पोखरामा टोलीलाई स्वागत समेत गरेको छ । टोलीले पोखरामा १३ दिनको बसाई गर्ने एन्फा केन्द्रिय सदस्य एवम् राष्ट्रिय टोली व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । ‘हामी १३ दिन पोखरामा बस्ने छौँ, रंगालामा प्रशिक्षण हुनेछ’ उनले भने । टोलीले पोखरामा हाइकिङ समेत गर्ने उनले जानकारी दिए ।

घरेलु मैदानमा हुने छनोट खेलका लागि टोलीले करिब २ साता पोखरामा प्रशिक्षण गर्नेछन् । उनीहरु बिहीबार विहान पोखराको लागि प्रस्थान गरेका थिए । यस अघि दशरथ रंगशालामा प्रशिक्षण गरिरहेको टोली पुर्व योजना अनुसार नै पोखरा आएका हुन् । बन्द प्रशिक्षणमा पुरुष सिनियर टोली आएको सम्भवतःक यो पहिलो पटक हो । पोखरामा अन्तराष्ट्रि स्तरको रंगशाला निमार्ण भएलगत्तै राष्ट्रिय टोलीको प्रशिक्षणको रोजाईमा पर्ने गरेको छ । यस अघि यु–१८ र महिला राष्ट्रि टोली पोखरा आइसकेका छन् । यी बाहेक पोखरा अन्तराष्ट्रि फुटबल मैदानमा १३ औँ साग महिला फुटबल प्रतियोगिता समेत सम्पन्न भइसकेको छ । मैदान बने लगत्तै पोखरामा ठुला प्रतियोगिता हुन थालेका छन् । पोखरामा साग महिला च्याम्पीयनसिप तथा मैत्रीपूर्ण खेल गर्ने तयारी समेत भइरहेको छ । पोखरा फुटबल मैदानमा फ्लड लाइट नहुँदा विश्वकप छनोट खेल भने गुमाएको छ ।
१ अर्ब २८ करोड रुपैँयामा पहिलो चरणमा १६ हजार पाँच सय दर्शक क्षमता सहितको मैदान सम्पन्न भइसकेको छ । तर राष्ट्रिय खेलकुद परिषद्ले ३ हजार पाँच सय सिट क्षमता बढाएर २० हजार पु¥याउने योजना बनाइरहेको भएपनि रकमको टुङ्गो भने लागि सकेको छैन ।
नेपालले विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमासमेत खेल्दैछ । कोरोना महामारीको कारण विश्वकप छनोट खेलको मिति पछाडी धकेलिएको छ । पोखरा फुटबल मैदान निमार्णको पहिलो चरणमै लाइट र स्कोरबोर्डको लागि समेत बजेट छुट्टिएको भए पोखराले विश्वकप फुटबल छनोट खेल खेलाउन सक्थ्यो ।
एएफसीले कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत समूह चरणको बाँकी खेलको खेल तालिका सार्वजर्निक गरेको छ । सन् २०२० कै मार्चमा हुने तय भएको खेल कोरोना भाइरस संक्रमणका कारण अक्टोबर र नोभेम्बरलाई सारिएको थियो पुनः अवस्था सामान्य नहुँदा नेपालले बाँकी खेल मार्च र जुन महिनामा खेल्ने तय भएको छ । नेपालले र चाइनिज ताइपेइसँग चैत १२ गते, अष्ट्रेलियासँग १७ गते खेल्नेछ भने विश्वकप छनोटको अन्तिम खेल जेठ २४ गते जोर्डनसँग खेल्ने छ ।




