बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चिना हेराएर गरिएका विवाह दिगो हुन्छ भन्थे तर…

चिना हेराएर गरिएका विवाह दिगो हुन्छ भन्थे तर…


  • बन्दना भट्टराई
  • माघ १० २०७७, शनिबार

सुरू कहाँदेखि गरौं। अहिलेको अवस्थामा पुगेका म जस्तै निर्जीव जिन्दगी जिउन बाध्य बनेकादेखि गरौं कि ! बारम्बार हिलाम्य जिन्दगी देख्दादेख्दै पनि कमल हो तेरो भाग्य भन्ने पृत्तिबाट गरौं ? या त्यो स्पर्शबाट गरौं जसको सामिप्यता मृत्युतुल्य छ ।

आफूभन्दा ‘तल्लो’ जातको केटो रोजेर मेरी दिदीले जुनदेखि यो घरको दलान नाघेर गइन् त्यो दिनदेखि दिदीलाई भेट्नु त टाढाको कुरा घरमा उसको कुरामा पनि बन्देज हुँदै गयो ।

हामीले बिताएको बाल्यकालका मीठा सम्झना नै त्यसपछिको मेरो सारथी बन्न पुग्यो ।

बा मेरा गाउँमा चिनिएका नामी पुरेत  र आमा पुरेतकी जहान। गाउँघरमा दिदीको कारणले गएको  बाआमाको इज्जत जोगाउनको निम्ति मेरो बिहे कुल, जात, नाम, चिना ,कुण्डली, भाग्य आदि/इत्यादि सबैको लेखाजोखा मिलाएर गरियो।

सायद दिदीको जति हिम्मत ममा नभएर हो कि आफ्नो  इच्छा भन्न  नसकेर मेरो विवाह समय अगावै भयो । ३८ मा ३८ गुण मिलेको, जिउडाल राम्रो  हुनेखाने घरको केटो छ तिमीले सुख पाउँछौ । केटो सरकारी जागिरे, पुर्खेउली सम्पत्ति नि प्रशस्तै छ त्यो घरमा तिमीलाई दुःख हुँदैन ।

यस्तै यस्तै शब्दहरूले आफैंलाई  बारम्बार मेरी आमाले सन्तुष्ट गराई रहनु हुन्थ्यो ।

मलाई भने आफ्नो वकिल पढ्ने सपनाको पखेटा काटिदिएको झैं लाग्थ्यो। तर पनि केही भन्न सकिनँ ।

विवाहपछि पहिलो पटक माइती आएको बेला आमाले मलाई सिकाएको पहिलो पाठ यही थियो-त्यो घर अबदेखि तिम्रो घर हो ।

जतिनै पारिवारिक समस्या भए पनि बाहिर आउनु नदिनू । घर राम्रोसँग धानेर खानू । अब यो घरको इज्जत र त्यो घरको इज्जत दुवैको जिम्मा तिम्रो ।

यति भनिसकेपछि आमाले छोरी भनेर अंकमाल गर्दा हातभरिको छोपिएको चोट ब्लाउजले झन् तल सारेर छोप्न खोजें।

हुन त कहिले पनि मैले आमालाई साथी बनाउन सकेको थिइनँ। दिदी हुँदासम्म सानोतिनो दुःख सधैं उसैसँग पोख्थें, अब मेरो पीडा कसलाई सुनाउनु ?

आमा विवाहको रातदेखि नै म माथि बज्रपात हुन थाल्यो म जादिनँ त्यो घरमा फेरि कसरी भन्नु  ?

अन्त्यमा बिदा हुँदा सासूलाई आमाजस्तै सोचेर सम्मानपूर्वक माया गर्नु र घरका सबैलाई रिझाएर राख्नु भनेको कुरा मेरो मनमा गढ्यो ।

मैले विवाहको पहिलो रात शारीरिक पीडा के हो भन्ने कुरा बुझेको थिएँ तर दिनहरू बित्दै जाँदा मानसिक यातना भनेको के हो  ? क्रूरता भनेको के हो  ? चोट कसलाई भन्छ  ?  सम्बन्धको परिभाषा, प्रेम,घृणा आदि/इत्यादि सबै बुझ्दै गएँ ।

विवाह अथार्त् प्रेम तर त्यो प्रेम मलाई उहाँसँग नै हुनुपर्छ भन्ने मेरो मानसिकता थियो । विवाहको पहिलो रात जबरजस्ती मेरो मर्जी बमोजिम मेरा पैतालादेखि शिरसम्मका वस्त्र निकालिए । म निर्वस्त्र भएँ । सायद निर्वस्त्र हुनु प्रेम हो भन्ने प्रश्न मेरो मस्तिष्कमा आयो तर उत्तर आएको थिएन ।

जीवनमा पहिलो पल्ट थियो होला जब मलाई कसैले भुइँमा पछारेको थियो ।  विवाहको अर्को दिन बिहानै मेरो शिर दराजको तिखो भागमा ठोकिन पुग्यो या भनौं ठोकाइयो । त्यो मेरो जीवनको पहिलो चोट थियो जसको निसानले धेरैसम्म छोडेको थिएन । त्यसपछिका हरेक रात नशा र गाँजामा धुत भएर आएको लोग्नेबाट मानसिक, शारीरिक यातना सहँदैमा बित्यो ।

सहनु मेरो कमजोरी थियो कि मेरो बहादुरी ? हरेक दिन आफैंले आफूलाई गर्ने प्रश्न थियो ।

मलाई मेरो कर्तव्य र जिम्मेवारी प्रेमपूर्वक बोध गराउने जिम्मा मेरो घरको हुनुपर्छ ।

आमाले दुलहन फर्काउन गएको बेला तिमीलाई उता केही अप्ठ्यारो त छैन नि मात्रै सोधिदिएको भए ……।

सासूआमालाई आमा झैं सम्झिनु र माया गर्नु भनेको झसंग याद आयो ।

मेरो पीडा अर्को महिलाले कसरी नबुझ्नुहोला भन्ने सोचेर ममाथि हुने यातना भन्ने साहस जुटाएँ । तर म असफल भएँ। मेरा कुरालाई झूट साबित गरियो। त्यो दिनदेखि म घरको नमीठो पात्र बन्न पुगे ।

सासूको अपहेलना लोग्नेको यातना आदि इत्यादि सहनु मेरो दैनिकीझैं भयो ।  सानो छँदा विद्यालयमा धेरै पटक वक्तृत्वकलामा नारी शिक्षा, समावेशीकरण, महिलाको नेतृत्व, मानव अधिकार भन्ने शीर्षकमा बोल्थें र जित्थें पनि त्यहाँ बोल्दा आफू भएर बोल्थें । त्यो बेला मलाई समाज थाहा थियो तर समाज बुझेकी र भोगेकी  थिइनँ ।

मलाई जातभातको विभेद थाहा थियो तर दिदीलाई झैं घरबाटै बञ्चित गरिन्छ भन्ने थाहा थिएन ।

मलाई चिना कुण्डली हेराएर गरिएका वैवाहिक सम्बन्ध दीगो हुन्छन् भन्ने सिकाइएको थियो तर मेरो जीवनमा उसको र मेरो साथ कुनै काँडेतारले बेरेको मैदानभन्दा कम थिएन ।

संकीर्ण  र साँघुरो सोचमा मलाई बाँच्न परिरहेको थियो ।

दिनहरू बित्दै जाँदा मानसिक रूपमा म कमजोर हुँदै गएँ । मेरो ब्यथा मैले सहन सकिनँ र सम्बन्धलाई अन्त्य गर्ने र सबैलाई आफ्नो पीडा भन्ने निर्णय गरें । मलाई आश्चर्य तब लाग्यो जब आफ्नै जन्म दिने आमाबाले घरयासी झैं झगडा घरमै समाधान गर्नुपर्छ, तेरै व्यहोरा गतिलो नभएर होला भन्ने जस्ता शब्द प्रयोग गर्नुभयो ।

त्यो दिन मेरो लागि संसारमै सबभन्दा कालो दिन थियो । मेरा जन्मदाता पनि मेरा आफ्ना रहेनछन् झैं मैले महशुस गरें ।

को छ त मेरो  ? कसलाई सुनाउनु मेरा पीडा  ? मेरो मस्तिष्कले बारम्बार मलाई सोधिरहन्थो । घर छोडेर जाऊँ भने बाउआमाको इज्जत जान्छ भन्ने पीर नछोड्नु भने दिन रातको यातना ।

आफ्नै जिन्दगीको उत्पीडनमा म किन यति निरिह बन्दै गएको होला  ?

कसको इज्जत थामेर बसेकी छु म  ? त्यो परिवारको जसले आफ्नै भ्रुणको दुःख महशुस गर्दैन र मलाई यस्तो खाडलमा हेरिरहेको छ  ? त्यो लोग्नेको घरको इज्जत थाम्नु जो जीवनसाथी बनेर त आयो तर साथी कहिले बन्न सकेन ??

त्यो दिन मैले दिदीलाई खुब सम्झिएँ ।

दिदी धन्न तिमीले स्वतन्त्रता रोज्यौ झैं महशुस गरें । तर फेरि आफैं मनन गरे हरेक सम्बन्धको आयु क्षितिज सरह नहुँदो रहेछ ।

आज म कानुनको विद्यार्थी, ठूला ठूला वकालत लडिरहँदा मलाई मेरो विगत खुब सम्झनामा आउँछ । गर्भ बसेको थाहा भएपछि मैले आफूलाई त्यो खाडलमा राख्न चाहिनँ या भनूँ त्यो दलदलबाट म निष्कासित भएर स्वतन्त्र जिन्दगी रोजें ।

शारीरिक दुरूपयोग, भावनात्मक दुर्व्यवहार, सामान्यतया, भावनात्मक दुर्व्यवहार जुन मैले विवाहको रातदेखि भोग्दै आइरहेकी थिएँ, चलिरहेको चिन्ता र उदासिनतालाई नै आफ्नो नियति ठान्दै बसेकी थिएँ त्यसको अन्त्य हुन जरूरी थियो ।

नियति त्यस्तो हुँदैन भन्ने कुरा मैले समय सापक्ष बुझ्दै गएँ । मेरो कोखबाट नारीको जन्म भएको छ । म उसलाई म हुर्किएको जस्तो समाजमा,पारिवारिक असहजतालाई स्वीकार गर्न सिकाउँदै हुर्काउन चाहन्नँ । दिदीझैं उसले ‘तल्लो’ जातको रोजेर विवाह गर्छु भनेपछि उसको खुसी सोच्नु नै उसलाई स्वतन्त्रता दिनु हो ।

घरेलु हिंसा उसमाथि हुन थाल्यो भने आवाज उठाएर अन्यायको विरूद्धमा लड्न पर्छ भनेर साथ दिने मेरो दायित्व हो ।

सबै व्यक्तिहरूलाई स्वतन्त्रतामा बाँच्ने अधिकार छ । मैले आफूलाई त्यो दलदलबाट निकालें र अर्थहीन जिन्दगीबाट अर्थपूर्ण जिन्दगी रोजें ।

तर अझै पनि अर्थहीन, उत्पीडनको जिन्दगीलाई नियति भनेर जिउनेको कमी छैन । साँच्चै जीवन बहुमूल्य छ आफूलाई चिन्न खोजौं ।

सहनशीलता हुनु भनेको कर्म र कर्तव्यमा हो आफ्नो लक्ष्यमा हो, यातनामा होइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->