शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

लाहुरे गाउँको परिचय फेरेर पर्यटनको ‘हब’ बन्दैछ घान्द्रुक

लाहुरे गाउँको परिचय फेरेर पर्यटनको ‘हब’ बन्दैछ घान्द्रुक


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०७७, बिहिबार

पोखरा, २२ माघ– कुनै बेला कास्कीको घान्द्रुकका प्रत्येक घरका कम्तिमा एक जना सदस्य लाहुरे हुन्थे । बेलायती सेना, सिङ्गापुर पुलिस र भारतीय सेनामा भर्ती नभएका युवा गाउँका कुनै घरमा बाँकी थिएनन् । कुनै घरका त सबै दाजुभाई नै लाहुरे भएका थिए । यही लाहुरे संस्कृतिका कारण घान्द्रुकलाई ‘लाहुरे गाउँ’ भनेर लामो समय चिनियो ।
घान्द्रुकका विक्रम गुरुङका बुबाका ४ जना दाजुभाई थिए । सबै जना लाहुरे । विक्रम पनि लाहुरे बन्न चाहेका थिए । ब्रिटिश आर्मीमा होस् या सिङ्गापुरे पुलिस । कहीं पनि उनी छनौट भएनन् । भारतीय सेनामा भर्ती लिन आएको टोलीले पनि उनलाई छनौट गरेन ।
त्यसो त विदेशी सेना र पुलिसमा भर्ती लिन ति देशहरुले पनि संख्या कटौती गर्दै थियो, यद्यपी गरिरहेकैछ । नेपाली युवालाई आप्mनो देशको सेनामा भर्ती गराउन आउँदा बिसौं हजार युवा लाइन लाग्न पुग्छन् । धेरै युवा लाहुरे बन्ने अन्तिम सपना साँचेर पहिल्यैदेखि लाहुरे तालिम केन्द्रमा भर्ना भएर कसरत गर्छन् त कोही गाउँघरमै लाहुरे बन्न विहानै उठेर दौडिनेदेखि अरु कसरत गर्छन् ।
योग्य हुँदा हुँदै पनि धेरै युवा लाहुरे बन्न सक्दैनन् । कारण उनीहरुले भर्ती लिने कोटा निकै थोरै हुन्छ, भर्ती हुन आउने युवाको संख्या हजारौं । लाहुरेमा छनौट नहुँदै उमेर ढल्किएपछि विक्रम २०४८ सालमै कोरिया हानिए ।
गुरुङ गाउँमा अहिले पनि लाहुरे संस्कृति यथावत छ । लाहुरे बनेर छुट्टीमा आएका युवालाई गाउँलेले दिने मान–सम्मान छुट्टै छ । गाउँमै बसेर काम गर्ने युवालाई भने लाहुरेलाई जस्तो मान– मनितो हुँदैन । गुरुङ गाउँमा उच्च शिक्षा हासिल गरेर शिक्षक भएका युवा भन्दा ८ कक्षा पास भएर लाहुरे भएकाहरुको भाउ ठुलो छ ।
विदेशी सेना र प्रहरीमा भर्ती हुन नसकेपनि विक्रमलाई गाउँमा लाहुरेको आकर्षणले लोभ्याएको थियो, कोरिया गएर उनी पनि ‘लाहुरे’ भए । कोरियामा ६ बर्ष बसेर फर्केपछि उनी ३ बर्ष नेपालमै बसे । बेलायती सेनामा भर्ती हुने र स–परिवार बेलायत जाने प्रचलन घान्द्रुकमा स्थापित भइसकेको थियो ।
उनलाई पनि बेलायत जान मन लाग्यो । बेलायती सेनामा भर्ती हुन नपाएर के भो । उनी जुनसुकै उपायले पनि बेलायत जान चाहे । उनको चाहको जोहो गरिदिए, नेपाल स्थित दलालहरुले ।
भारतको बाटो भएर विक्रम दलालको साथ मस्को पुगे । मस्कोबाटा दक्षिण अमेरिकी मुलुक क्वबा पुगे । क्युबाबाट स्पेनको राजधानी म्याड्रिड ओर्लिए । स्पेनबाटै विक्रमलाई दलालले बेलायत छिराइदिए । यतिका लामो यात्रा उनले ११ दिनमा पुरा गरेका थिए । त्यतिबेला उनले ८ लाख रुपैया दलाललाई बुझाएको बताउँछन् ।
बेलायत जाने उनको धोको त पुरा भयो, अब के गर्ने कहाँ जाने उनलाई पनि थाहा थिएन । बेलायतमा उनले आफुलाई शरणार्थी बताए । त्यही रुपमा काम गर्न थाले । सन् २००२ मा बेलायत प्रस्थान गरेका विक्रम सन् २०१० मा मात्र नेपाल फर्किए । बेलायतमा बस्दाको ८ बर्ष उनी सरसफाई मजदुर भएर काम गरे ।
‘जहिले पनि झाडु लगाउने काम कति गर्ने हो’, उनले भने, ‘काम गर्दा गर्दै रन्किएर म नेपाल आए ।’ बेलायत गएर छुट्टीमा आएकाहरुको सान उनले बेलायतमा बस्दाको ८ बर्षमा बुझिहाले । कति काम गर्नुपर्दो रहेछ भनेर । लाहुर भएर गएकाहरु होस् या उनीहरुको साथ लागेर गएका परिवार । सबै काममा जोतिनुपथ्र्यो । नेपालमा जस्तो चियागफमा घण्टौं विताउने फुर्सद उनीहरुलाई मिल्थेन ।
त्यसो त पेन्सन आइसकेको भूतपूर्व लाहुरे पनि उसै गरी काममा जोतिएको उनले देखे । बैंश रहिञ्जेल विदेशी सेनामा काम गरेका नेपालीहरु सेवा निवृत्त हुँदा पनि उसैगरी घण्टौं खटिन्थे । ‘गाउँमा आउँदा मात्र रैछ लाहुरेको मान’, उनले भने ।
यी सब देखेर नेपाल फर्किएपछि भने अब उनलाई विदेश जानु छैन । नेपाल फर्केर पोखरामा ‘गुरुङ प्रार्थना डेकोरेसन’ चलाएका विक्रम अहिले भने गाउँमै आनन्दले बाँचेका छन् । पोखराको व्यवसाय सोचेजस्तो अघि बढेन । गाउँमा भने पर्यटकले कोठा नपाएर बेहाल भएका समाचारहरु उनले बारम्बार सुनेका थिए ।
उनलाई पनि मन लाग्यो, अब गाउँमै होटल खोल्छु । पोखराबाट गाउँ गएर उनले परिवारसँग सल्लाह गरे । उनका भाउजुले भनिदिइन्, ‘होटल माउण्टेन भ्यु खोली छ, त्यही चलाउनु ।’ भाउजुको सुझाव विक्रमलाई गज्जब लाग्यो, उनले होटल माउण्टेन भ्यु चलाउन थाले ।
उक्त होटल उनको परिवारको भने होइन । होटल धनिलाई विक्रमले अहिले बार्षिक ७ लाख ५० हजार रुपैया भाडा तिर्छन् । पैसा कमाउन विदेशतिर चक्कर लगाएका विक्रम अहिले गाउँमै रमाएका छन् । ‘गाउँमै रहेछ पैसा त’, उनले भने, ‘व्यर्थै परदेशमा भौंतारिएछु ।’
घान्द्रुक अन्नपूर्ण आधार शिविर पदमार्ग र घोरेपानी– पुनहिल पदमार्गको प्रवेशद्धार हो । अन्नपूर्ण संरक्षण क्षेत्र शुरुवात भएको ठाउँ घान्द्रुक संरक्षणका हिसाबले पनि उत्तिकै प्रसिद्ध छ । गाउँ माथि देखिने अन्नपूर्ण दक्षिण, हिमचुली, उत्तरपूर्वमा टल्किने माछापुच्छ«े, गंगापूर्ण लगायतका हिमालले गाउँलाई उज्यालो बनाएको छ ।
झुरुप्प बसेको गुरुङ गाउँ र उनीहरुको संस्कृतिले पर्यटकलाई झनै मोहित बनाउँछ । यही आकर्षण देखेर विदेशी मात्र होइन, नेपालीको भिड घान्द्रुकमा बढ्दो छ । घान्द्रुकमै होटल चलाएर विक्रमले अहिले अर्को होटल खोल्दैछन् । अर्काको होटल भाडामा लिएर चलाएकै नाफाले उनले अहिले ३ करोड लगानीमा २४ कोठाको होटल बनाउँदैछन् ।
‘विदेशमा क्लिनर हेल्पर (सरसफाई सहयोगी)का रुपमा काम गर्थें’, उनले भने, ‘यहाँ त मलाई साहुजी भन्छन्, आनन्दको कमाई छ ।’
विदेशको दुख गाउँमै खन्याउने विक्रम मात्र होइनन् । अहिले देश–विदेशमा रहेका युवा आफ्नै थातथलो फर्कदैछन् । घान्द्रुककै होटल ‘वल्ड भिलेज इन’का संचालक कृष्ण गुरुङ २००६ मा दक्षिण कोरिया पुगेका थिए । उनी २०१७ मा गाउँ फर्किए । गाउँकै लघु जलविद्युत आयोजनामा व्यवस्थापकका रुपमा काम गरिरहेका भाई अमृत गुरुङसँग मिलेर होटल खोले । कोरियाको कमाई भन्दा होटलबाट आउने मुनाफा बढी देखेर उनलाई पनि अचम्म लागेको छ ।
‘विदेशमा कति दुख गरिन्थ्यो, गाउँमै विदेशमा भन्दा धेरै कमाई भइराखेको छ’, उनले भने, ‘विदेशमा धेरै दुख गरियो, त्यति नै दुख यहाँ गर्ने हो भने त झनै धेरै कमाई हुन्छ ।’ घान्द्रुकमा पर्यटनको भविश्य अझै उज्वल भएको उनको ठम्याई छ । कोरियामा फ्रिज बनाउने कम्पनीमा काम गरेका कृष्ण अहिले गाउँमा होटल मालिक बनेका छन् । अब काम गर्नकै लागि विदेश नजाने निष्कर्ष निकालेका छन् ।
काम गर्नका लागि विदेश गएकाहरु मात्र होइन, लाहुरे भएकाहरु पनि पेन्सन जीन्दगी गाउँमै विताउन थालेका छन् । घान्द्रुकका लाहुरेहरु बेलायती सेनामा भर्ती भएर धेरै जसो उतै बस्छन् त केही पोखरा र काठमाडौंमा बस्छन् । अहिले बेलायत जानेहरु पनि गाउँ फर्केर बस्न थालेको उनीहरु बताउँछन् । ‘लाहुरेले पनि गाउँको जग्गाको महत्व बुझेछन्, अहिले त सबै फर्कन पो थालेछन्’, विक्रमले भने ।
घान्द्रुकका सबै जनाले होटल खोलेका छैनन् । पर्यटन व्यवसायी समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङका अनुसार अहिले घान्द्रुकमा ६० वटा होटल छन् । करिब १० वटा जति होमस्टे छन् । अहिले पनि झण्डै १० वटा होटल बनाउने क्रममा रहेको अध्यक्ष गुरुङ बताउँछन् ।
अहिले संचालनमा रहेका होटलहरुमा १ हजार २०० जना पर्यटक राख्न सकिने उनको भनाई छ । होटल खोल्न नसक्ने गाउँलेले कोही कृषिमा लागेका छन् त कोही पशुपालन गर्छन् । स्थानीयले फलाएको साग सब्जी गाउँकै होटलले किनिदिएका छन्, दुध, घ्यु पनि होटलले किनिदिन्छन् । ‘घान्द्रुक आउने पर्यटकलाई सकेसम्म स्थानीय उत्पादन नै खुवाउँछौं’, अध्यक्ष गुरुङले भने ।
घान्द्रुकका प्राय सबैजसो उत्पादन अर्गानिक हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले आप्mनो क्षेत्रभित्रका किसानलाई रासायनिक मल र विषादी प्रयोग गर्न दिँदैन । स्थानीय कम्पोष्ट मल र स्थानीय स्तरमा बनाउन सकिने विषादी प्रयोग गर्न गाउँका किसानलाई सिकाएको एक्यापको इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख शैलेन्द्र यादबले बताए ।
गाउँ फर्केर कृषि कर्ममा लागेका युवालाई स्थानीय सरकारले पनि साथ दिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. ११ घान्द्रुकका वडा अध्यक्ष कुमार गुरुङले व्यवसायिक पशुपालन र कृषिमा लागेका युवालाई गाउँपालिकाले सहयोग गरेको बताए । हाल झण्डै ६ सय घरधुरी रहेको घान्द्रुकका प्राय सबैजसो युवाले स्वरोजगार गरेका वडाध्यक्ष गुरुङले बताए ।
घान्द्रुकका युवालाई अन्यत्र जस्तो रोजगारीको दुख पनि छैन । गाउँ आउने पर्यटकको गाइडदेखि पोर्टरसम्मको काम उनीहरुले पाएका छन् । अन्नपूर्ण आधार शिविर र पुनहिल–घोरेपानी जाने पर्यटक स्थानीय युवालाई रोजगारी दिएका छन् ।
घान्द्रुकमा २४ बर्षअघि होटल खोल्दा किसम गुरुङले बजार पर्यटक आउने बाटो ढुकेर बस्नुपथ्र्यो । त्यो अबस्थाबाट गुज्रिएर कोरोना भाइरसको महामारी अउनुअघिसम्म पर्यटकलाई कहा राख्ने चिन्ताले नै उनलाई सताउन थालेको थियो । ‘हामीले होटल खोल्दा बजार खोज्नुपथ्र्यो, अहिले घान्द्रुक पर्यटनको हब भएको छ’, उनले भने, ‘यहाको पर्यटन बजार पनि अन्यत्र भन्दा स्थायी छ ।’
घान्द्रुक कसरी भयो त पर्यटनको हब ?
घान्द्रुकमा पहिलो पटक २०३८÷०३९ तिर विदेशी पर्यटक देखिन थालेका थिए । विदेशी देखिन थालेपछि स्थानीय चकबहादुर गुरुङले गाउँमा होटल खोले । उनीसँग ४ जनाले ४ वटा होटल त्यतिबेला संचालनमा ल्याएका थिए । जब २०४१ सालतिर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना बनाउने कुरा हुन थाल्यो, त्यसपछि नै घान्द्रुकमा पर्यटन व्यवस्थापनका कुरा व्यवस्थित रुपमा अघि बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना बनाउन तत्कालिन संरक्षणविद् डा. हर्क गुरुङ, चन्द्रबहादुर गुरुङ, मिङ्माम शेर्पा लगायत विदेशी संरक्षणविद् समेत घान्द्रुक जान थाले । उनीहरुले होटल चलाउन र पर्यटन व्यवस्थापन गर्न स्थानीयलाई सुझाए ।
अन्नपूर्ण संरक्षण क्षेत्र बनाउने प्रस्ताव पारित भएपछि नमुनाका रुपमा तत्कालिन घान्द्रकु गाविसलाई मात्र संरक्षण क्षेत्र घोषणा गरिएको थियो । समुदायमा आधारित संरक्षणको कार्यक्रम सफल भएपछि नै ५ जिल्लामा एक्याप फैलिएको हो । त्यतिबेला देखि नै एक्यापले घान्द्रुकलाई पर्यटनकीय क्षेत्रका रुपमा प्रवद्र्धन गरेको गुरुङले बताए ।
‘एक्यापले गर्दा नै घान्द्रुक पर्यटनको हब बनेको हो’, पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष गुरुङले भने, ‘पर्यटक आउँदा होटललाई मात्र होइन, सबै गाउँलेलाई फाइदा पुगेको छ ।’
कोरोना भाइरसको महामारीबाट नेपालको पर्यटन क्षेत्र ग्रसित छ । यसबाट घान्द्रुक अलग हुन सक्ने कुरा भएन । घान्द्रुकका स्थानीयले त लकडाउन खुलेर अन्यत्रका पदमार्ग खुलिसक्दा समेत पर्यटकलाई घान्द्रुक आउन निषेध गरेको थियो ।
दशैंताका टिका लगाउन अन्यत्र पनि नजाने र आप्mनो गाउँमा पनि कोही नआओस् भनेको घान्द्रुकका स्थानीयले अहिले भने पूर्ण रुपमा पर्यटकका लागि खुला गरेको छ । माघ १ गतेदेखि पर्यटकका लागि खुलेको घान्द्रुकमा अहिले पर्यटकका लागि आइसोलेसनको व्यवस्था पनि छ । स्थानीय पर्यटन व्यवसायीले गाउँकै एउटा घर मासिक ३० हजार भाडा तिर्ने गरी आइसोलेसन बनाएका छन् । आइसोलेसनमा विरामी हेर्न नर्स राखेका छन् । अहिलेसम्म पनि गाउँ आएका कोही पनि पर्यटक विरामी नभएको गुरुङ कटेज होटलका संचालक समेत रहेका पर्यटन व्यवसायी समितिका अध्यक्ष किसम गुरुङले बताए ।
पर्यटकका लागि घान्द्रुक खुलेपछि अहिले नेपाली पर्यटकको चाप बढ्दै गएको छ । विभिन्न कलेजका विद्यार्थीदेखि युवा पुस्ताको जमात घान्द्रुकमा देख्न सकिन्छ । ‘होटल खुलाउने निर्णय गरेपछि नेपालीहरु आउन थालेका छन्’, गुरुङले भने, ‘यही गतिमा पर्यटक बढ्यो भने घान्द्रुक त नेपाली पर्यटकले मात्र पनि भरिन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->