तनहुँ, २३ माघ – तनहुँमा शुक्रबार फेरी अर्को सडक दुर्घटना भएको छ । व्यास नगरपालिका–६ बाकुरेखोलास्थित भित्री सडकखण्डमा साँझ भएको ट्याक्टर दुर्घटनामा एक जना बालकको मृत्यु भएको छ । साँजाबाट शेखाटारतर्फ आउँदै गरेको ग १ त ३०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टदा ट्याक्टरमा सवार स्थानिय ९ वर्षीय सरोज थापाको मृत्यु भएको हो ।
ट्याक्टरको ढालामा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकबाट अन्दाजी तीन सय मिटर तल अनियन्त्रित भई ट्याक्टर पल्टदा बालकका आमा २७ वर्षीय सरस्वती थापा र ट्याक्टर चालक ४० वर्षीय बुद्धि श्रेष्ठ घाइते भएका छन् । ती दुवै जनाको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार नै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टदा धादिङको गल्छी गाउँपालिका–८ का २२ बर्षीय गोविन्द मगरको मृत्यु भएको थियो ।





