पोखरा, २४ माघ– नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य घनश्याम भुषालले ओलीवादको अवसान सुरु भएको बताएका छन् । पोखरामा पार्टी निकट बुद्धिजिवीहरुको भेलालाई सम्बोधन गदै भुषालले यस्तो बताएका हुन् । भुषालले भने, ‘पञ्चायतको राम राज्यको परिकल्पनामा जव मण्डलेहरु स्टेजमा आए पञ्चायतको दिनगन्ती सुरु भएको थियो’, भुषालले भने, ‘कम्रेड ओली तपाईले मण्डलेहरु अगाडी ल्याउन थाल्नुभएको छ । ओलीवादको अव अवसान सुरु भयो । दिनगन्ती सुरु भयो ।’
नेता भुषालले अहिले ओलीवाद आफ्नो चरित्रसहितको पूर्ण रुपमा आएको बताए । ‘विचार सर्वसत्तावाद, सबै कब्जा गर्ने वैचारिक रुपमा त्यहाँ पुगेको छ । यसलाई राजनीतिक भन्न सकिँदैन ।’
ओली बा आइ लभ यू, त्यो भनेको व्यक्तिवाद हो । उहाँले बनाउने संगठन, उहाँले बनाउन खोजेको संगठन उहाँले तोकेका मान्छेहरुको संगठन हो’, उनले भने । प्रधानमन्त्री ओलीको नजरमा अहिले दुई खालका मान्छे रहेको उनको धारणा छ । पहिलो ओलीको आँखामा भएका मान्छे जति सबै चाकर ठान्ने र दोस्रो चाकर हैनन् ती सत्रु हुन् भन्ने धारणा ओलीमा रहेको उनले अथ्र्याए । ‘जसले चाकर गर्दैन कम्रेड ओली त्यसको उछितो काड्नु हुनुहन्छ’, उनले भने ‘त्यसका विरुद्धमा लाग्नुहुन्छ । त्यसलाई बदनामी गर्नुहुन्छ । अझै म सुन्दै छु, उहाँले मुद्धा मामिलाका के के कुरा गदै हुनुन्छ भन्ने सुन्दैछु ।’ प्रधानमन्त्री ओलीले बनाउने संगठन भनेको अन्ततः मण्डले संगठन नै रहेको उनको टिप्पणी छ ।
कार्यक्रममा बोल्दै अर्का नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले ओली सर्वसत्तावादी र फाँसीवादी भएको आरोप लगाए । उनले ओलीका कारण लोकतन्त्र र गणतन्त्र गुम्ने खतरा रहेको पनि जिकिर गरे । लोकतन्त्रको रक्षाका लागि पनि ओलीलाई विदा गर्नुपर्ने बताउँदै उनले प्रचण्ड–माधव नभएको पार्टी नेकपाको मूल पार्टी हुनै नसक्ने जिकिर गरे ।





