तस्वीर: विजय नेपाली/ढोरपाटन
पोखरा, २७ माघ–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको खेलकुद विकासको लागि प्रदेश खेलकुद परिषद् छिट्टै गठन हुने बताएका छन् ।
मंगलाबारदेखि पोखरा रंगशाला भलिबल खेल मैदानमा आयोजित टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले प्रदेश सरकारले खेल पर्यटनका लागि खेलकुदको रणनीति बनाउने काम भइरहेको बताउँदै खेलकुदको विकासको लागि गण्डकी प्रदेश खेलकुद परिषद्को गठन छिट्टै हुने बताएका हुन् । ‘अब चाडै गण्डकी खेलकुद परिषद् गठन हुन्छ’ मुख्यमन्त्री गुरुङले भने । आगामी वर्षदेखि भने गण्डकी प्रदेशलाई खेल पर्यटनको रुपमा विकास गर्ने स्पष्ट पारे । गण्डकी प्रदेशमा आवस्यक खेल पुर्वाधारहरु निमार्णको काम चलिरहेकाले पुर्वाधार सम्पन्न भइसकेपछि खेल पर्यटनको लागि अघि बढ्ने बताए । ‘गण्डकी प्रदेशमा आउटडोर इनडोरका मात्र होइनन् साहसिक खेलहरुको पनि सम्भाव्यता प्रचुर मात्रामा छ । गण्डकी प्रदेशमा एन्फा एकेडेमी समेत निमार्ण हुदैँछ, हामीले सक्ने सहयोग त्यसमा पनि गर्ने छौ । खेलकुदको सहर बनाउन विभिन्न प्रतियोगिताको आयोजना गरेका छौँ आगामी दिनमा त्यसलाई थप कार्ययोजनाका साथमा लाने गरी खेलकुदको रणनीति तयार पार्ने काम गरिरहेका छौँ’ मुख्यमन्त्री गुरुङले भने ।




