पोखरा, २ फागुन–कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । फागुन ४ देखि ८ गतेसम्म हुने प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुद तयारीका लागी महिला तथा पुरुष खेलाडी उत्पादनमा जोड दिदैं प्रतियोगिताको आयोजना गरिएको संयोजक गौचनले जानकारी दिए ।
प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २÷२ दुई लाख रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, दोस्रो टिमले एक लाख र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा फरक फरक पाँचवटा बिधामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले पुरस्कार पाउने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।
अध्यक्ष पराजुलीका अनुसार गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर त्यसैलाई खेलाडी आपूर्ति समेत हुन सक्ने गरी प्रतिभावान् भलिबल खेलाडीको खोजी पनि यो प्रतियोगितामा हुने छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार शिलवालले गण्डकी प्रदेशमा उत्कृष्ट भलिबल खेलाडी रहेको बताउँदै खेलाडीको संरक्षण गर्न आग्रह गरेका छन् । पोखरामा रहेका सदस्य सचिव शिलवालले शनिवार सम्पन्न टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी चुम्न सफल गण्डकी प्रदेशका खेलाडीको खेल स्तरको प्रसंशा गरे । ‘हिजो मात्र समपन्न खेलमा ७ जना राष्ट्रिय खेलाडी भएको आर्मी जस्तो टिमलाई हराउँनु चानेचुने कुरा होइन् ।’ गाउँ गाउँबाट ल्याएर खेल स्तर नै नबुझि प्रतियोगिता खेलाउँदा उनीहरुको योग्य देखिएको उनले बताए । ‘त्यसता राम्रा खेल्ने केटाहरु रहेछन् अब गण्डकीले खेलाडीको संरक्षण गर्न सक्नुपर्छ ’ सदस्य सचिवले भने । खेलाडी संरक्षण गर्न नसके फेरी विभागीय खेलाडीले लाने र पहिले कै स्थितिमा प्रदेश पुग्ने उनको भनाइ छ । ‘अहिले खेलाडीको संरक्षण गर्न सकेनौ भने विभागीय लगि हाल्छ । हिजोको खेल्मा समेत आर्मीले त्यो ३ नम्बरको खेलाडीलाई चेक हान न भनिरहेका थिए खेलमै त हो हेर्ने त्यसैले खेलाडीको संरक्षणमा आजैबाट लागौँ ।’ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकीले खेलाडी तयार गनु आग्रह गर्दै मुख्य मन्त्री कपले महिला खेलाडीको समेत उत्पादन गर्दै नवौमा उत्कृष्टता हासिल गर्न शुभकामना दिए ।




