ढोरपाटन सहकर्मीले प्रदेशसभा सदस्य कृष्ण थापासँग गरेको छोटो संवाद:
गण्डकी प्रदेश सरकारका तीन बर्षमा के पाउनु भयो ?
यो सरकारबाट जनताले केही पाउनु पर्छ भनेर हामीले पनि साथ दिएका थियौं, तर यो सरकार त कछुवा गतिमा हिड्यो । भएका योजनाहरु कार्यान्वयन गर्न सकेन । शान्ति सुरक्षा कायम गर्न पनि नसक्ने, महंगी नियन्त्रण गर्न नसक्ने र भ्रष्टाचार बढ्दा पनि मुकदर्शक बन्ने अबस्थामा प्रदेश सरकार रहेको छ ।
यो प्रदेश सरकारबाट के अपेक्षा गर्नु भएको थियो ?
लामो समयदेखि नेपाल अस्थिर राजनीतिबाट गुज्रेको थियो । देशमा बर्गिय, क्षेत्रीय र उत्पीडितको हित गर्ने सरकार बनेका थिएनन् । त्यसैले कम्तिमा कम्प्युनिष्टको सरकार भएमा देशमा स्थिरता कायम हुन्छ । जनताले बिकास र समृद्धि पाउन सक्छन् । अस्थिरता हट्छ भनेर समर्थन पनि गरेका थियौं । तर यो सरकारले सत्ता स्वार्थका लागि मात्रै काम गर्ने, पद लोलुपता देखाउने लगायतको गतिविधि मात्रै गरिरहेको छ । हामीले यो सरकारबाट जे नहोला भनेर समर्थन गरेका थियौं, त्यही भैरहेको छ ।
तपाई प्रदेश मामिला समितिको सभापति पनि हुनुहुन्छ, सरकारलाई के सहयोग गर्नु भयो त ?
हामीले सबै क्षेत्रबाट सक्दो सहयोग गरेका छौं । गण्डकी प्रदेश सरकारको सिमना बिबाद समाधान, नाका संचालन लगायतमा साथ दियौं । असमान गण्डक सम्झौता पुनराबलोकन लगायतका बिषयमा अध्ययन गरेर सुझाव दियौं । जेल सुधारको क्षेत्रमा अध्ययन गरेर सुझाव पेश गरेका छौं । समितिले थुप्रै निर्णय गरेर सरकारलाई पेश गरेका छौं । मन्त्रीलाई बोलाएर छलफल पनि गरेका छौं । तर सरकार सामन्ती प्रवृत्तिको छ । सुझावलाई मनन् गर्नुको साटो आफ्नो सत्ता स्वार्थ मात्रै देखाइरहेको छ ।
संघियता नमान्ने पार्टीले संघियताको महत्वपूर्ण अंगलाई सहयोग गरेर पनि जनताले केही पाएनन् ?
हामी राजनीतिक रुपमा संघियता बिरोधी हौं तर जनताको बिकास बिरोधी होइनौं । कामलाई हेरेर उसको आलोचना र समर्थनको नीति लिएका हौं । हामीले पहिले देखिनै यो देशमा संघियता काम छैन, संघियताले देश टुक्रा पार्छ भनेका थियौ । तर अहिले सरकारको आफ्नै कारणले संघियता धुजाधुजा भैसकेको छ । अब जनताले आँफै बुझ्ेका छन् सरकारको चरित्र । संघियता किन नचाहिएको रहेछ भन्ने पनि प्रष्टै भएको छ ।





