बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘भौज्याहा’लाई रत्नश्रेष्ठ राष्ट्रिय पुरस्कार

‘भौज्याहा’लाई रत्नश्रेष्ठ राष्ट्रिय पुरस्कार


  • ढोरपाटन संबाददाता
  • फाल्गुन ८ २०७७, शनिबार

बागलुङ, ८ फागुन- रत्न श्रेष्ठ पुरस्कार गुठीले २०७७ सालको राष्ट्रिय, प्रादेशिक र क्षेत्रीय पुरस्कारहरु प्रदान गरेको छ ।
शुक्रवार बागलुङमा आयोजित कार्यक्रममा रत्नश्रेष्ठ राष्ट्रिय पुरस्कारबाट ‘भौज्याहा निबन्ध संग्रह’का लेखक चन्द्रप्रकाश बानियालाई ५० हजार राशीको पुरस्कार प्रदान गरिएको हो । बानियाले लेखेको महारानी उपन्यासले यो बर्षको मदन पुरस्कार समेत पाएको छ ।
त्यस्तै पूर्वीय दर्शनको पुर्नव्याख्या नामक निबन्ध संग्रहका लेखक डा. प्रमोद ढकाललाई २५ हजार राशीको रत्नश्रेष्ठ प्रादेशिक पुरस्कार दिइएको छ । ‘फुर्लुङ’ नामको उपन्यास लेखेका महेश्वर पन्तलाई धवलागिरी प्रतिभा पुरस्कार दिइएको छ । कार्यक्रममै जीवन दर्शनको रुपरेखा नामक अनुभूतिजन्य कृतिका लेखक प्रा. डा. रमेशचन्द्र अधिकारीलाई २५ हजार राशीकै जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरियो । पिपिरी उपन्यासका लेखक मिनराज बसन्तलाई गुरुगणेश बिष्णु स्मृति पुरस्कार दिइएको छ ।
बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक प्रेम छोटा लगायतले उनीहरुलाई पुरस्कृत र सममनित गरेका थिए । २०३४ सालमा स्थापित यो गुठीको पुरस्कारकालागि रत्न श्रेष्ठका छोरा तथा संस्थापक प्रेम छोटाले अक्षय कोष बनाएका छन् । कोष मार्फत राष्ट्रिय, क्षेत्रीय र प्रादेशिक पुरस्कार दिने चलन राजधानीपछिको पहिलो भएको दावी समेत गरिएको छ ।
म्याग्दीका बानिया राजनीतिक क्षेत्र, सामाजिक र लेखकीय क्षेत्रमा सक्रिय छन् । उनले स्थानीय महारानीथानको परिचय सहितको उपन्यास लेखेर मदन पुरस्कार जित्न सफल भए । साथै उनले सामाजिक क्षेत्रका धेरै बिषयमा निबन्ध समेत लेख्दै आएका छन् । पुरस्कृत ढकाल भने जैमिनीमा जन्मेपनि गैडाकोटमा बस्दै आएका छन् । उनले पुर्वीय दर्शन मात्र नभइ समुन्नत समाजकालागि ज्ञान, बिज्ञान र प्राविधिको समन्वय र अवधारणाको खोजी गरेका छन् । उनका हरेक कृतिमा दर्शनको अर्थ खोजिएको भेटिन्छ ।
पर्वतको फलेबासमा जन्मेका पन्तले फुर्लुङ लघु उपन्यास लेखेका छन् । त्यस बाहेक हराएको मान्छे गजल संग्रह, मुन्द्री कथा संग्रह लगायत गीत संगीतको क्षेत्रमा सक्रिय छन् । पुरस्कृत अधिकारी धादिङको सुनौला बजार घर भएका हुन् । उनले संस्कृत भाषा र साहित्यमा बढी रुची राख्छन् । प्राध्यापन क्षेत्रका अधिकारीले नियात्रा, कथा र जीवन भोगाइहरु बढी लेख्ने गरेका छन् ।
बागलुङको बलेवाका मिनराज बसन्त भने कलिलो उमेरमै पुरस्कृत हुनेमा पर्छन् । बैदेशिक रोजगारीकालागि खाडी मुलुकमा केही समय बस्दा मुदिर उपन्यास लेखेर चर्चा पाएका बसन्तले पिपिरी उपन्यास पनि लेखेका छन् । आफ्नै गाउँ र क्षेत्रको अबस्था बारे लेखिएको पिपिरी लाईपनि गुठीले पुरस्कारकालागि छनौट गरेको हो ।
गुठीका अध्यक्ष तथा साहित्यकार प्रेम छोटाको अध्यक्षता सदस्य सचिव महेशचन्द्र प्रधानको संचालन र सदस्य तथा टिप्पणीकार डा दिनबहादुर थापाको स्वागतमा सम्पनन कार्यक्रममा पुरस्कृत व्यक्तित सहित बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, साहित्यकार काजी रोशन लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->