पोखरा, १० फागुन– गण्डकी प्रदेशलाई भलिबलको उर्वरभूमि मानिन्छ । तत्कालीन पश्चिमाञ्चल हुँदा गण्डकीले भलिबलमा निकै खेलाडी उत्पादन गर्ने गरेको थियो ।
अहिले पनि नेपालका उत्कृष्ट क्लबहरुमा गण्डकी प्रदेशका खेलाडी नभएका होइनन् । गण्डकी प्रदेशले खेलाडीको संरक्षण गर्न नसक्दा विभागीय क्लबमा जान खेलाडी बाध्य भएका छन् । लामो समयदेखि उपाधिविहीन गण्डकी प्रदेशले यो वर्ष भने भलिबलमा ऐतिहासिक सफलता हात पारेको छ । राष्ट्रिय खेलाडीको वर्चस्व रहेको त्रिभुवन आर्मीजस्तो टिमलाई दुईदुई पटक हराएर राष्ट्रियस्तरको उपाधि जित्नु सामान्य कुरा होइन् । त्यो पनि एक हप्ताको प्रशिक्षणमा । गण्डकी प्रदेशले अहिले पुरुषतर्फ उत्कृष्ट खेलाडी पाएको छ । तर, दुर्भाग्य महिलातर्फ भने खेलाडी नै छैनन् । भएका खेलाडी विभागीय वा अन्य क्लबमा आबद्धता भएर व्यासायिक खेल खेलिरहेका छन् । अरुणा शाही,कमला पुन, उषा भण्डारी, हिरा केसी, जस्ता नाम चलेका खेलाडीहरु सबै अन्तै पुगिसकेका छन् । उता, पुरुष तर्फपनि लक्ष्मण राना,विजय थापा, महेन्द्र श्रेष्ठ, मानबहादुर जस्ता खेलाडी विभागीय क्लबाट खेलिरहेका छन् । हालैमात्र पोखरामा दुई भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । जसले गण्डकी प्रदेशमा उदयीमान खेलाडीहरु छ्यापछ्याप्ती रहेको देखाइरहेका छन् ।
नेपालकै राष्ट्रिय खेल भलिबलसँगै कोरोनापश्चात गण्डकी प्रदेशको खेल गतिविधि सुचारु भएको छ । राष्ट्रियस्तरको टाइगरकपमा उत्कृष्ट खेल कौशल देखाएका खेलाडीहरु पुनः सोहि मैदानमा आफ्नो गृह जिल्लाहरुको प्रतिनिधित्व गर्दै प्रदेश छनोट मानिएको मुख्यमन्त्री कपमा सहभागि भए । मुख्यमन्त्रीकपले नयाँ खेलाडी उत्पादनमा विशेष भुमिका खेलेको त छ । तर पनि खेलाडीको संरक्षण हुने वा नहुने भन्ने द्धिविधा भने यथावत रहेको छ ।
गण्डकी प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्नेछ । यसअघि फागुनमा हुने भनिए पनि कोरोनाकै कारण मिति सारिएको हो । नवौँको लागि पनि प्रदेशले खेलाडी तयार गर्न पर्नेछ । तर, गण्डकीका खेलाडीमा भने छुट्टै हौसला छ । हौसलामात्र होइन उनीहरुमा प्रदेशले पनि आफूहरुका लागि केही गरिदियोस् भन्ने चाहाना छ । प्रदेशले बन्द प्रशिक्षणको व्यवस्था गरिदिए अन्य प्रतियोगितामा अझ उत्कृष्ट खेल देखाउने खेलाडीहरुको भनाइ रहेको छ । गण्डकी प्रदेशमा भने प्रतियोगिता हुने समयमा मञ्चमा रकम दिने र खेलाडी उत्पादन गर्ने बताइरहे पनि खेलाडी संरक्षणको कुरा भने आउँदैनन् ।
गण्डकी प्रदेश पुरुष भलिबल टोलीका प्रशिक्षक रमेश केसीले नयाँ खेलाडीले इतिहास रच्न सफल भएको बताए । राष्ट्रिय खेलाडी रहेको टिमलाई हराउँदै दर्शकको समर्थनले नयाँ उर्जा मिलेको उनको भनाइ छ । केसीले प्रदेशले लगानी गर्नसके नेपालकै उत्कृष्ट टोली बनाउन सक्ने बताए । ‘राष्टिय खेलाडी भएको टिमलाई दुई–दुई पटक हराएर उपाधी जित्यौँ । गण्डकी प्रदेश भलिबल खेलमा नेपालकै उत्कृष्ट टिम बन्न सक्छ’,उनले भने । छोटो समयमाको मेहेनतले ऐतिहासिक सफलता मिल्दा निकै हौसला मिलेको उनको भनाइ छ । प्रदेशस्तरीय खेलबाट थप खेलाडी उत्पादन गर्ने उनले बताए । प्रदेश सरकारले अहिलेदेखि नै टोलीलाई नियमित प्रशिक्षणको व्यवस्था मिलाए भलिबलको प्रदेश बनाउन सकिने उनले बताए ।
‘प्रदेश सरकारले खेलकुदलाई अलिकति बजेट छुट्याएर प्रशिक्षणको व्यवस्था गर्न सक्नुपर्छ । यदि खेलाडीको संरक्षण गर्ने हो भने खेलाडीका लागि रोजगारको समेत व्यवस्था गर्नसक्नुपर्छ’,उनले भने । खेलाडीको अवस्था हेरेर राज्यले उचित न्याय गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘प्रदेशको अवस्था दयनीय छ,खेलाडी परिवारमै अल्झेर बस्न परेको अवस्था छ । यो भन्दापनि उत्कृष्ट टिम तयार गर्नेसक्छौँ’, उनले भने । यस्तै गण्डकी प्रदेशका कप्तान हरि पाण्डेले प्रदेश सरकारले खेलाडीको लागि केही पनि गर्न नसकेको बताए । ‘प्रदेश सरकारले गर्नपर्ने हो तर सकिरहेको छैन’,उनले भने,‘ स्थानीय खेलकै भरमा राष्ट्रियस्तरको खेल खेल्न छौँ, बन्द प्रशिक्षण भयो भने अझ बलियो टिम बनेर उत्रिने छ ।’
गण्डकी प्रदेशका लिव्रो राजन दर्लामी मगरले एक हप्ताको प्रशिक्षणले नै राष्ट्रियस्तरको खेलमा कसरी खेल्ने भन्ने कुरा सिकाएको बताए । ‘एक हप्ताको तालिमले कसरी खेल्ने भन्ने सिकायो’, उनले भने ।राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीले कुनै समय पोखराले मात्रै भलिबल खेलाडी उत्पादन गरेपनि अहिले भने सबै विद्यालय हराएको बताइन् । गण्डकी प्रदेशले खेलाडीको संरक्षण गर्न नसके खेलाडी पलायन हुने उनको भनाइ रहेको छ । उनले प्रदेशस्तरीय खेलमा महिला टोलीका लागि नियमित खेल्ने खोलाडी नभएको बताइन् । ‘कोही पनि नियमित खेल्ने खेलाडी छैनन् । सहभागि हुनमात्र खेलाडी लिएर आएको देखिन्छ’,उनले भनिन्,‘ प्रतियोगितापश्चात जिल्लाबाट आएका खेलाडी कहाँ पुग्ने थाहा छैन ।’ जिल्लाले समेत भलिबल खेलाडी उत्पादनमा जोड दिँदै उनले नियमित प्रशिक्षण गराउन आग्रह गरिन् । यस्तै युवा स्पाइकर उषा भण्डारीले प्रदेशमा खेलाडीको भविष्य निश्चित नरहेको गुनासो गरिन् । ‘विभागीय टोलीमा जसरी नै भविष्य निश्चित गराएर प्रदेशले पनि टोली बनाउन सक्नुपर्छ’,उनले भनिन् ।




