पोखरा, १२ फागुन–पोखराको टुडिँखेल मैदानमा जारी दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स (३५ वर्ष माथि) कपमा गोलको वर्षा भएको छ । प्रतियोगिताकै इतिहासमा यो सर्वाधिक गोल हो । बुधवार भएको दोस्रो संस्करण देश्ना चन्द भेट्रान्स कप सेभेन ए साइड नयाँ गल्ली कप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार ६ खेल सम्पन्न भएका छन् । उक्त ६ खेलमा ३८ गोल भएको छ ।
बुधवार भएको पहिलो खेलमा नयाँ गल्ली भेट्रान्सले मित्रता भेट्रान्सलाई ८–१ को फराकिलो गोल अन्तरले पाखा लगाउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । दोस्रो खेलमा भ्याली स्पोटर्सले पाहुना टोली भिमादलाई १४–० को अत्यन्तै फराकिलो गोलअन्तरले पाखा लगायो । जितसंगै भ्याली क्वाटरफाइनल प्रवेश गरेको छ । यो गोल प्रतियोगिताकै सर्वाधिक गोल हो । तेस्रो खेलमा एलजी एसोसिएसनले वालिङलाई २–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ । गार्डेनले विष्णु पादुकालाई ४–० गोल अन्तरले पाखा लगायो । यस्तै चौथो खेलमा गोर्खा अनलिमिटेड फिट्नेस सेन्टरले विटिलाई ३–० गोल अन्तरले हरायो । प्रतियोगिताको अन्तिम खेलमा काल भैरव भेट्रान्स हेटौडाले आयोजक इन्दे्रणीलाई ४–१ गोल अन्तरले हरायो । प्रतियोगिता अन्तर्गत बिहिवार क्वाटरफाइनलका खेलहरु हुने आयोजकले जानकारी दिएको छ ।




