पोखरा, १६ फागुन– कोरोना महामारी पछि पोखरामा खेलकुदका गतिविधि निकै बढेको छ । राष्ट्रिय खेल भलिबलबाट खेल गतिविधि सुरु भएको पोखरामा अहिले सबैभन्दा बढि फुटसल प्रतियोगिता भइरहेका छन् । थोरै खर्च सानो क्षेत्रमा खेल्न सकिने फुटसलको लोकप्रियता पनि बढ्दो छ । यसैसंगै विभिन्न फुटसल मैदानमा एमेचर फुटसल प्रतियोगिता भइरहेकै छन् । यसो त पोखरामात्र नभई देशभर फुटसल प्रतियोगिताको आयोजना हुने गर्दछ । फुटसल प्रतियोगितामा पुरस्कार राशी करिब ५०–६० हजार भन्दा माथि हुदैँन । तर पोखरमा ३ लाख पुरस्कार राशीको फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । स्पोट्र्स क्यासलको आयोजनामा प्रथम राजन खुल्ला फुटसल प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन् भने उपविजेताले नगद १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन् । जुन नेपालकै सर्वाधिक राशिको फुटसल प्रतियोगिता हो । प्रतियोगिताले पोखराबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा जोड दिने खेल संयोजक आशिष क्षेत्रीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैँया प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताल समान १०–१० हजार रुपैँया प्राप्त गर्नेछन् ।
आगामी चैत्र १० देखि १२ गतेसम्म स्पोट्र्स क्यासलमा आयोजना हुने प्रतियोगिता फिफाको नियम अनुसारनै खेलाइने छ । पोखरामा पैसा कमाउने नाममा फुटसल प्रतियोगिताहरु भइरहँदा राजन कपले भने संस्थागत प्रतियोगिताको आयोजना गर्न लागको छ ।




