पोखरा, १७ फागुन– पोखरा रंगशालामा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुदाँ पुर्वाधारको काम धमाधम गरियो । निमार्णाधि पोखरा रंगशालामा १३ औँ सागका ७ खेल सम्पन्न भए । साग तयारी पुर्व धमाधम बनेको पुर्वाधार अहिले रकम विनियोजन नहुँदा सुस्ताएको छ । देशकै सर्वाधिक दर्शक क्षमताको बनाउन लागिएको २० हजार दर्शक क्षमता सहितको फुटबल मैदान बजेट अभावकै कारण अन्योलमा परेको छ । त्यतिमात्र होइन गण्डकी प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समेत आयोजना गर्दैछ । तर पोखरामा सुटिङ, स्विमिङपुल लगायतका पुर्वाधारका लागि अझै रकम आउन सकेको छैन् । बजेट अभावकै कारण पुर्वाधार निमार्णका काम अघि नबढ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई रंगशाला भ्रमणमा बोलाइएको छ । सोमवार एक कार्यक्रममा सहभागि हुनेका लागि पोखरा आउने ओलीलाई रंगशालाको समेत निरीक्षण गराइने छ । प्रधानमन्त्री ओली आउने भएपछि आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश शिलवाल, राखेप सदस्य राजेश गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका पदाधीकारी, जिल्ला खेलकुद संघका पदाधिकारीले रंगशालाको अनुगमन समेत गरेका छन् । पुर्वाधार विकासका लागि छिटो भन्दा छिटो रकम विनियोजन गर्नका लागि प्रधानमन्त्रीलाई रंगशाला ल्याउन लागिएको सदस्य राजेश गुरुङले बताए । ‘रंगशालामा खेल पुर्वाधार बजेट अभावका कारण अघि बढ्न सकेको छैन । प्रधामन्त्रीलाई नै ल्याएर देखाउन सकियो भने बजेट छिटो आउँछ की भन्ने नै हो’ गुरुङले भने । प्रधामन्त्री अवलोकनका लागि आउने भएपछि उनीहरुले सुरक्षा प्रवन्ध र के कति काम भयो भन्ने विषयमा छलफल गर्न लागि पोखरा रंगशाला पुगेका हुन ।




