पोखरा, १७ फागुन– पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको दोस्रो दिन एकै खेलमा ११ गोल गर्दै आयोजक सेतो दोस्रो चरणमा प्रवेश गरेको छ ।
पोखराको पुरानो टुडिखेल मैदानमा भएको खेलमा बिटी सेतोले छोरेपाटन एफसीलाई ११–० को फराकिलो गोलले पाखा लगायो ।
आयोजकको जीतमा सुनिल बिकले दोहोरो ह्याट्रिक गरे । त्यस्तै लक्ष्मण रुचाल र विनोद गुरुङले समान २ गोल गरे भने सुदिप पाठकले १ गोल गरे ।
त्यस्तै अर्काे खेलमा फोर टु फाईभ एफसीले आयोजक ओरेन्जलाई ४–१ गोल अन्तरले हराएको छ ।
फोर टु फाईभको जीतमा सकुल गुरुङले २ गोल, आशिष क्षेत्री र संगम ठकुरीले समान एक एक गोल गरे । राजन केसीले आयोजक ओरेन्जका लागि १ गोल गरे ।
एलजी एशोसियसनले शितल देवी क्लबलाई २–० को गोल अन्तरले हराउदै दोस्रो चरणमा प्रवेश गर्याे । एलजीको जीतमा प्रियसन गुरुङ र विजय गुरुङले गोल गरे ।
अर्काे खेलमा मेरो नेपाललाई रञ्जन मेमोरियलले २–० ले पाखा लगायो । उनका अनुसार रञ्जनको जीतमा सुशान गुरुङ र रोशन छन्त्यालले गोल गरे । पाँचौ खेलमा एसवाईसीबीले विष्णु पादुकालाई २–१ गोल अन्तरले पाराजित गर्याे । एसवाईसीबीको जीतमा रविन्द्र मल्ल र खीम गुरुङले समान १ गोल गरे भने विष्णु पादुकाको तर्फबाट विशाल सुनारले सान्त्वना १ गोल फर्काए ।
छैटौ खेलमा लाहाचोक एफसीले काँडे एपेक्सलाई ५–० गोलको फराकिलो अन्तरले हरायो । सातौ खेलमा पाटन एफसीले भदौरे क्लबलाई ३–० गोल अन्तरले हरायो । त्यसैगरी नयांगल्लीले ह्याप्पी ब्रदर्शलाई टाइब्रेकरमा ३–१ गोलले हरायो निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
अन्तिम खेलमा रत्नसमाज सेवा समिति कस्केरीलाई कमलपोखरी एफसीले १–० ले हरायो ।
सोमबार समेत ९ खेल सञ्चालन गरिने बताउदै प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले पहिलो खेल भिमकाली क्लब र एम फाईभ बिच हुने जानकारी दिए ।




