पोखरा, १९ फागुन–पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत प्रिक्वाटरफाईनलका सात खेल सम्पन्न भएका छन् ।
बुधवार भएको पहिलो खेलमा संगमले एवाईसी हेम्जालाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । संगमको जीतमा वेल प्रसाद गुरङले निर्णायक १ गोलको योगदान दिए ।
दोस्रो खेलमा सिमपानी एफसीले फिटनेसलाई २–१ ले हराउँदै सहज जीत निकाल्यो । सिमपानीको जीतमा सुनिल तामाङ र कृष्ण क्षेत्रीले समान १–१ गोल गरे । भने फिटनेशको तर्फबाट किर्विनले सान्त्वना १ गोल फर्काए ।
नयाँ गल्लीले पाटन एफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
उता आयोजक निलोलाई र चाउथे एफसीले टाइब्रेकरमै ३–२ गोलले हरायो । निर्धारित समयको खेल गोररहित बराबरीमा रोकिएपछि खेल टाईबेकरमा धकेलिएको थियो ।
पाँचौ खेलमा सत्य युवा क्लब बाँझापाटनले ओटु बारलाई ३–१ गोल अन्तरले पराजित गर्याे । बाँझापाटनको जीतमा मन तामाङ, अजय श्रेष्ठ र उत्तम गुरुङले समान १ गोल गरे भने ओटुको तर्फबाट सिद्धान्त गुरुङले सान्त्वना १ गोल फर्काए ।
छैटौ खेलमा मालेपाटन एफसीले वेलीबारलाई २–० गोल अन्तरले हरायो । मालेपाटनको जीतमा सोम तामाङले २ गोलको योगदान दिए ।
यसैगरी अन्तिम खेलमा कमलपोखरी क्लबले एलजी एशोसियसनमाथी १–० गोल नतिजासहित सँघर्षपूर्ण जीत निकाल्यो । कमलपोखरीको जीतमा पाहुना खेलाडी दिपेश आले मगरले निर्णायक गोल गरे । खेल संयोजक निकेश गुरुङका अनुसार बिहिबार ७ खेल सञ्चालन हुनेछन् ।




