आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘कल्पनाका यथार्थ कविता’

‘कल्पनाका यथार्थ कविता’


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २० २०७७, बिहिबार

पोखरा, २० फागुन– ‘व्यक्तिगत रुपमा भयंकर रिसाहा कवि हुन् कल्पना । तर, रिसाएको कविले सुन्दर कविता जन्माउँदो रहेछ । पूरै संग्रहमा तपाईं त्यस्ता कविता भेटाउनुहुन्न, जहाँ कवि नरिसाएकी होस्,’ चुल्ठो कविता संग्रहमा संग्रहित कवि कल्पना चिलुवालको कवितामाथि अर्का कवि सरस्वति प्रतीक्षाको दृष्टिकोण हो यो ।
कवि कल्पना चिलुवालको नविनतम् कविता कृति चुल्ठोमाथि बुधबार पोखरामा परिचर्चा गरियो । माघ २४ गते काठमाडौंमा विमोचन भएको कृतिको पहिलो पटक पोखरामा परिचर्चा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कृतिमाथि आफ्नो विचार राख्दै कवि प्रतीक्षाले कवि चिलुवाल रिसाहा भए पनि यथार्थपरक र विद्रोही कविका रुपमा चित्रण गरिन् । उनले चुल्ठो कविता संग्रह समाजका हरेक कोणलाई समेटेको हुनाले कुनै एक वादमामात्रै सीमित गर्न नहुने धारणा राखिन् ।
‘कल्पनाका कवितालाई कुनै एउटा वादमा मात्र समेट्न खोजियो भने अन्याय हुन्छ,’ कवि प्रतीक्षाले भनिन्, ‘यो खासमा थुप्रै वादहरुको कोलाज हो । यहाँ नारीवाददेखि यथार्थवादसम्मका वाद अटाएका छन् ।’ उनले चुल्ठो कवितासंग्रह देशको ‘स्खलित राजनीति’को दस्तावेज भएकोसमेत बताइन् ।
लेखनमा आफ्नोपन नभएको समीक्षा गर्दै प्रतीक्षाले समाजलाई नकारात्मक ढंगलेमात्रै ननियाल्न कविलाई आग्रह गरिन् । ‘हरेक कुरा नराम्रा हुँदाहुँदै पनि केही अवश्य राम्रा छन् । मानवीयता घाइतेमात्रै भएको हो, मरिसकेको छैन,’ उनले भनिन्, ‘तर, कविको नाम कल्पना भए पनि कल्पनाका कविताहरु यथार्थपरक छन् ।’
अर्का वक्ता सुमिनाले चुल्ठोले कविकोमात्रै नभएर सम्पूर्ण उत्पीडित, सीमान्तकृत, निम्नवर्गको आवाज बोलेको जिकिर गरिन् । उनले चुल्ठाले पाठकको मस्तिष्कमा तहल्का पिट्न सक्ने समीक्षा गरिन् । ‘हल्ला, तहल्का कविले होइन, कविको कविताले पिट्नुपर्छ । कल्पनाका कविताले मस्तिष्कमा तहल्का पिट्न सक्छन्,’ उनले भनिन् ।
कृतिमा अधिकांश अस्तित्ववादी धारका कविता कवि सुमिनाले बताइन् । उनले भनिन्, ‘कविताले शालिन विद्रोह बोलेका छन् । कवितामा जे छन्, सत्य छन् ।’ उनले कविता संग्रहबाट ‘छनोट’ शीर्षकको कविता वाचन गरिन् ।
कार्यक्रममा डा कृष्णराज अधिकारीले कवि चिलुवालको कविता सरल रहेको बताए । उनले पछिल्लो पुस्ताले प्रयोगका नाममा विम्बको थुप्रो लगाउने र त्यसले कविताको मर्म नै मारिदिने गरेकोमा चिन्ता व्यक्त गरे । ‘कवि चिलुवालको विम्व प्रयोग पनि सरल छन् । जसले गर्दा हरेक पाठकले कविको विद्रोही चेत सजिलै अनुभव गर्छन्,’ उनले भने ।
बेला पब्लिकेसनले प्रकाशन गरेको चुल्ठो कवि चिलुवालको पहिलो कविता संग्रह हो । कृतिमा जम्मा ५६ वटा कविता संग्रहित छन् । कवि चिलुवालले आफूले कवितामा आम मान्छेको कथा लेख्ने र कविताबाटै आम मान्छेसम्म पुग्न पाउँदा खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->