काठमाण्डौ, २१ फागुन– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । तीन बुँदे सहमतिमा हस्ताक्षर आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताए । उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’
उनले यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना रहेको बताए । उनले दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना भएको बताए ।
उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौँ, पालना गर्छौँ। आशंका वा कुतर्क गर्न जरुरी छैन ।’, ‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने ।
उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको समेत बताए । उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन समेत गरेका छन् । विप्लवले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको समेत बताए ।





