पोखरा, २५ फागुन– बगर भाई खलकको आयोजनामा ‘चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सोमबारबाट शुरु भएको छ ।
उद्घाटन खेलमा पोखरा भेट्रान्सले विजयी शुरुवात गरेको छ । ४० देखि ६५ वर्ष उमेर समुहको उक्त प्रतियोगितको उद्घाटन खेलमा स्थानीय इन्द्रेणी एकिकृत विकास केन्द्रसँगको खेलमा पोखरा भेट्रान्स २–१ गोल अन्तरले विजयी भएको हो ।दोस्रो खेलमा आयोजक पोखरा बगर भाई खलक ‘ए’ ले श्रृङ्खला क्लव भलामलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
तेश्रो खेलमा लेकसाईड भेट्रान्स र विष्णु पादुका भेट्रान्सबीचको खेलमा विष्णु पादुका हेम्जा १–० गोलले विजयी भएको छ । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले पोखराको टुँडिखेल मैदानको विकासका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताए । संस्थाका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश गुरुङ, संस्थाका महासचिव खेम गुरुङलगायतले आ–आफ्ना धारणा राखेका थिए ।




