बागलुङ, २५ फागुन– धौलागिरि जागरण दैनिकका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको छ ।
नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजारसहितको उक्त सम्मान मंगलबार पोखरामा आयोजित सहकारीमार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीका अवसरमा पन्तलाई प्रदान गरिएको हो ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गरेका थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले पुरस्कृत पन्तलाई नगद १५ हजार, कदरपत्रसहित पुरस्कृत गर्नुभएको हो ।
हरेक वर्ष रिलायवल वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा प्रदान गर्ने गरी स्थापना भएको उक्त सम्मान यस वर्ष पन्तलाई प्रदान गरिएको हो ।
बागलुङलाई कार्यक्षेत्र बनाएर १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सहसम्पादक हुन् ।





