बागलुङबाट निर्वाचित ईन्द्रलाल सापकोटा गण्डकी प्रदेशसभाका पुन अस्तित्वमा आएको एमालेतर्फबाट एकमात्र माधव नेपाल पक्षधर सांसद हुन् । नेकपा एमाले बागलुङका अध्यक्ष सापकोटा माओवादीसँग एकीकरण भएर बनेको नेकपाको पनि बागलुङ अध्यक्ष थिए । सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदिएपछि उनी स्वत : एमाले बागलुङको अध्यक्ष भएका छन् । नेकपामा लामो समय चलेको विवाद र राजनीतिक रुपमा विभाजित भएर सडकमा आन्दोलन मच्चाउँदा उनी पनि अग्रमोर्चामा खटिएका थिए । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गरिदिपछि नेकपा राजनीतिक रुपमा विभाजित भएको थियो । त्यसपश्चात प्रचण्ड–माधव नेपाल समूह सडक आन्दोलनमा उत्रिएको थियो ।
सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन बदर गरिदिएपछि संघीय संसद सुचारु भएको छ । नेकपा नामसम्बन्धी मुद्दामा सर्वोच्चले तत्कालीन एमाले र माओवादीबीचको एकता नै भंग गरिदिएको छ ।
प्रधानमन्त्री ओलीका विरुद्ध प्रचण्डसँग मिलेर संघर्ष गरिरहेका माधव नेपालले फेरि एमालेमै फर्कने निर्णय गरेका छन् । ओलीकाविरुद्ध आन्दोलन चर्काएका नेपाल पक्षका तिनै सांसद सापकोटाकै हातमा बागलुङ एमालेको लगाम परेको छ । हामीले सापकोटासँग यसै परिवेशमा आधारित भएर कुराकानी गरेका छौं । प्रस्तुत छ,कुराकानीको सम्पादित अंश –सम्पादक
अब केपी शर्मा ओलीसहितको एमालेको बैठक कसरी डाक्नुहुन्छ, कुन मुख लिएर फर्कनुहुन्छ ?
हामी निश्चित विधि, मूल्य, मान्यता र संस्कारको राजनीति गर्नुपर्छ भनेर राजनीतिमा आएको हो । केपी ओलीले एमाले विघटन गरे, नेकपा बनाए । हामीले त्यसलाई स्वागत नै ग¥यौं । उहाँले आफूले जन्माएको सन्तानलाई बेवारिसे छोडिदिनुभयो, गलत गर्नुभयो त्यसकारण आजको आवश्यकता कम्युनिष्ट पार्टीको एकता नै हो भनेर त्यसलाई हामीले बोक्यौं । फेरि एमाले पार्टी बन्यो, एमालेको भूमिकामै रह्यौं । कुन मुख लिएर आउने भन्ने प्रश्नै भएन ।
सर्वोच्च अदालतको फैसलाले त तपाईहरुलाई अप्ठ्यारो पा¥यो नि ?
नेकपा बनाइसकेपछि ओलीजीलाई अलीअली झस्को लाग्यो । अल्पमतमा परें भन्ने लाग्यो । उहाँले आफैले जन्माएको नेकपा आफैले ‘किल’ गरेर हिड्नुभयो ।
हामीले तपाईले किल गर्न पाउनुहुन्न । यसको स्वामित्व हामी ग्रहण गर्छौँ भनेर नेकपालाई बलियो बनाउन लाग्यौं । अब अदालतको फैसला आइसकेपछि बाध्यात्मक रुपमा अदालतको फैसला हामी स्वीकार गर्छौ । स्वभाविक रुपमै पूर्वएमाले र माओवादीको रुपमा अगाडी बढ्नुपर्ने भयो । एमाले त हामीले बनाएको पार्टी हो नि । नेकपा एमाले अरु कसैले बनाएको पार्टी हो र अप्ठ्यारो मान्नलाई ?
ओली गुटले त तपाईहरुलाई खिसिट्युरी गर्दैछन् नि, देख्नुहुन्न ?
यिनका चुरीफुरी कति दिन रहन्छ ,सर । निष्ठाको राजनीति गर्नुस् । कुरा के भने निश्चित मूल्य– मान्यताभित्र अघि बढेपछि यी चिज अस्थायी हुन्छन्,बदलिन्छन् । समग्र गण्डकी होइन, कास्कीलगायत केही ठाउँमा उहाँहरु (ओली पक्ष)को दमन, उत्पीडन सहेकै हुन्, साथीहरुले । अब यसक विरुद्ध बिस्तारै वातावरण बनाउँदै जाने हो ।
कहिलेकाँही अल्पमतमा परिन्छ । तलमाथि पर्छ । विधि, मूल्य र मान्यतासहित लड्नुपर्छ । उनीहरुका कुरा सबै पढेका छौँ । यिनीहरुको खेलै त्यही हो नि । पार्टी फुट्दा खुसी हुने पनि यो संसारमा कोही मान्छे हुन्छ ? आज नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदा सबैभन्दा दुःखी म छु । दुई दिनदेखि मलाई निन्द्रा परेको छैन ।
ओली पक्ष यस्तरी किन खुसी भएका होलान् ?
हामी त मुलुकको एउटा समृद्ध कम्युनिष्ट पार्टी बनाउने, मुलुक बदल्ने, समाजवाद ल्याउने भनेर लाको होइन र ? यो कम्युनिष्ट पार्टी फुटेर के समाजवाद सम्भव छ ? आज राष्ट्रपति जुन पोजिसनमा हुनुहुन्छ आज प्रधानमन्त्री केपी ओली जहाँ हुनुहुन्छ, माओवादीको ४० प्रतिशत योगदान छैन र ?
उहाँले एकता किन गरेको ? राष्ट्रपति बन्न, प्रधानमन्त्री बन्न, मुख्यमन्त्री बन्न गरेको हो ? कुरा के भने हामी त, मुभमेन्टका लागि समाजवाद ल्याउने, मुलुकमा एउटा समृद्ध पार्टी बनाउने, देश समृद्ध बनाउने राजनीतिक स्थायित्व कायम गर्ने, भनेर एकता गरेको हो । लौ जनसमुदाय भोट हाल्नुस् भन्यौँ, त्यही भोटले जितेको मान्छे हो नि ।
जनताले नेकपालाई किन यति धेरै भोट हालेभन्दा स्थिरताका लागि हाले । राजनीतिक स्थायित्वका लागि हाले । विकास र समृद्धीका लागि हाले । फेरि नेकपा फुटेर हामीले त्यो प्राप्त गर्छौ त ?
यो फुटका लागि त प्रचण्ड, माधव नेपाल, तपाईंलगायत पनि जिम्मेवार हुनुहुन्छ त ?
आजै एमाले बनाउने रहर भएका सथाीहरुलाई हिजै एमाले छँदैथियो त किन एकता गर्न प¥याथ्यो ? एकता कल्ले गरेको केपी ओलीले होइन ? माधव नेपाल र झलनाथ खनाल त साक्षी बसेका हुन् । तपाईले देख्नुभाछ नि । उहाँ (ओली)ले आफैले जन्माएको संस्था किल गरेर हिँड्नुभयो । उहाँले सडकमा फालिदिएको सन्तान स्याहारेको मात्र हो हामीले त ।
अनि आज एमाले बनाउन पर्ने हामी एमालेमा जान पर्ने त्यस्तो हुन्छ कोर्स ? यो पार्टी बनाउन धेरै दुख गरेछौं । धेरै मान्छेको रगत पसिना भिजेको छ । अर्को कुरा तपाई हेर्नु न ! हिजो महाधिवेशनमा पनि कमरेड केपी ओली र माधव नेपालको भोटको अन्तर कति ? ४३ ? ठूलो अन्तर होइन नि देशभरमा । अझै त्यतिबेला वामदेव गौतम केपी ओलीको साथमा थिए । जनमतमा पनि उहाँ यो पार्टीको फस्र्ट मान्छे होइन के । जालझेल षड्यन्त्रमा चाहिँ उहाँलाई भेट्न धेरै मान्छेलाई गाह्रै पर्छ ।
अब त ओली पक्षले तपाईहरुलाई झनै किनाारमा पार्ने भए है ?
हामीलाई उनीहरुले किन किनारामा पार्ने ? हामीलाई केपी ओलीको आशा चाहिएको छैन क्या । हामी पार्टी भनेर लागेको हो, केपी ओली भनेर लागेको होइन । हामी केपी ओलीको आशिर्वाद खान पार्टीमा लागेको होइन । म यो पार्टीमा लाग्दा केपी ओली कहाँ हुनुहुन्थ्यो, चिन्दा पनि चिन्थिनँ ।
अब कसरी अगाडी बढ्नुहुन्छ ?
हाम्रो अध्यक्ष राम्रो हुँदा एकदम ग्रेट, स्यालुट, धन्यवाद कमरेड भन्यौँ । पार्र्टी पोलेर खानुभयो । गल्ती गर्नुभयो, बेठीक गर्नुभयो भन्यौं । अहिले पनि भन्छौँ, भोली पनि भन्छौं । उहाँले गरेका गलत क्रियाकलापका विरुद्ध पार्टीभित्र जमेर लड्छौं,कुरा क्लियर ।
हामी एमालेलाई अझै दरो बनाउँछौ । अझै मजबुत बनाउँछौ । एमाले हाम्रो घर हो । अझै बनाउँछौ र गलत क्रियाकलापविरुद्ध भिड्छौं । भागेर कहाँ हिँड्छौ र । उहाँहरुलाई भागेर हिँड्दिए हुन्थ्यो, उनीहरु भन्ने लागेको होला । लखेट्न पाए हुन्थ्यो भनेका होलान् । कहाँ भागेर हिँड्छौं ? हामीले बनाएको घर ! हामीले बनाएको घरमा बसेर खाउलाउ थुपुक्क !





