पोखरा, २६ फागुन– गण्डकी प्रदेशमा तत्कालीन एमालेभित्र माधवकुमार नेपाल समूह साह्रै कमजोर मानिन्छ । गण्डकीको बागलुङमा मात्र सो समूहका नेता ईन्द्रंलाल सापकोटा अध्यक्ष थिए । गण्डकी प्रदेशसभामा माधव समूहको बीऊ पनि उनले नै जोगाएका थिए ।
एमाले–माओवादी केन्द्रबीच एकता हुँदा पनि बागलुङको अध्यक्ष ईन्द्रलाल नै कायम रहे । एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) विभाजन हुँदा गण्डकीमा बागलुङ मात्रै यस्तो जिल्ला रह्यो,जहाँ प्रचण्ड–नेपाल समूहले कब्जा जमाउन सक्यो । पुस ५ गतेदेखि नै सो समूहले पार्टी कार्यालय छाडेन । ओली समूह पार्टी अफिस जाने वातावरण नै बनेन ।
लमजुङमा नेकपा बनेपछि तत्कालीन माओवादी केन्द्रको तर्फबाट मधुमाया अधिकारी अध्यक्ष बनेकी थिइन् । तर, पार्टीमा खटपट सुरु भएपछि उनलाई २ घण्टा पार्टी कार्यालयमै थुनेर ओली पक्षका कार्यकर्ताले अपमान गरिदिए । त्यसयता बन्द भएको लमजुङ एमाले पार्टी कार्यालय सोमबारबाट खुलेको छ ।
कार्यालय खुलेसँगै एमालेको पदाधिकारी बैठक बसेको एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडीले बताए । पदाधिकारी बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल गरेको र पार्टी कार्यालय नियमित रुपमा संचालन गर्ने निर्णय गरेको अध्यक्ष दवाडीले बताए । लमजुङमा नेकपा प्रचण्ड–नेपाल पक्षका सचिव बनेको हिरालाल विक पार्टी एकताअघि एमालेको जिल्ला सदस्य थिए । उनलाई पार्टीमै फर्केर निर्णय मान्न आग्रह गरेको अध्यक्ष दवाडीले बताए ।
यतिबेला गण्डकीमा एमालेको ओली पक्षले नेकपाको नाममा रहेको कार्यालय धमाधर्म ‘नेकपा एमाले’ लेखिएको बोर्ड राखेका छन् । पोखरामा रहेको नेकपाको गण्डकी प्रदेश कार्यालयमा मंगलबार एमाले लेखिएको बोर्ड राखिएको छ ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले विगतका कुरालाई लिएर पार्टीमा नेपाल पक्षका नेता, कार्यकर्तालाई तनाब नदिने बताए । ‘हिजोको कुरा हिजो सकियो, अब आजको कुरा आजबाट अघि बढ्छ’, उनले भने । सर्वोच्चको फैसला अघिसम्म ओली पक्ष र प्रचण्ड–नेपाल पक्षको रस्साकस्सी सडकमा छताछुल्ल थियो । गण्डकीमा बलियो संगठन रहेको ओली पक्षले प्रचण्ड–नेपाल समूहको भन्दा धेरै मानिस उतारेर देखाएका थिए । फैसलाअघि सडकमा देखिएका कुरालाई अन्यता नसोच्ने अध्यक्ष थापाले बताए ।‘हिजो उहाँहरुले हामीलाई गाली गर्नुभयो, उहाँहरुको मानवीय गल्ती भयो’, उनले भने, त्यसलाई अब हामीले अन्यथा सोच्नुहुँदैन ।’
बागलुङमा भने अवस्था त्यस्तो छैन । त्यहाँ हिजो प्रचण्ड–माधव समूहतिर लागेका व्यक्ति नै पार्टी अध्यक्ष छन् । ‘आफ्नै सन्तान हत्या गर्ने कामविरुद्ध लागेका थियौं, एमालेको हैसियतमा पनि फेरी नेपालका कम्युनिष्ट एकता गर्नुपर्छ भन्ने मान्यता राखिरहेका छौं’ उनले भने, ‘फुट्दा खुसी हुने स्यालहरुबाट भने अझैपनि सचेत हुनुपर्नेछ ।’ नेकपाको बोर्ड रहेको कार्यालयमा एमालेको कार्यालय राख्ने तयारी उनले सुनाए ।
उनले अदालतको फैसला पछि ओली प्रवृत्तिविरुद्ध डटेर लड्ने बताए । एमाले पार्टी बनाउँदा आफूसहित धेरै मान्छेको रगत र पसिना बगेको भन्दै ओली पक्षलाई सुपुक्क खान नदिने उनले अडान कसे । ओली पक्षका कतिपय नेता– कार्यकर्ता भने तल्लो तहसम्म प्रचण्ड–नेपाललाई व्यङ्ग्य कसिरहेका छन् । उनीहरुसँग लागेका कार्यकर्तालाई ‘कुन मुख लिएर पार्टीमा फर्केलान् ?’ भनिरहेका छन् । सापकोटाले यी सब घटनाक्रम आफुले हेरिरहेको बताए ।
‘यिनका चुरीफुरी कति दिन रहन्छ र । निष्ठाको राजनीति गर्नुस् । निश्चित मूल्य– मान्यता भित्र अघि बढेपछि यी चिज अस्थायी हुन्छन् । बदलिन्छन् । कास्कीलगायत केही ठाउँमा उहाँहरु (ओली पक्ष)को दमन उत्पीडन सहेकै हुन् साथीहरुले’,उनले ढोरपाटनसँग भने,‘ अब यसकाविरुद्ध विस्तारै वातावरण बनाउँदै जाने हो ।’
प्रधानमन्त्री ओलीले पार्टी पोलेर खाएको र गल्ती गरेको सापकोटाले आरोप लगाए । ‘हाम्रो अध्यक्ष राम्रो हुँदा एकदम ग्रेट, स्यालुट धन्यवाद कमरेड भन्यौं । पार्र्टी पोलेर खानुभयो, गल्ती गर्नुभयो । बेठीक गर्नुभयो भन्यौँ’, उनले भने,‘ अहिले पनि भन्छौ भोली पनि भन्छौं, उहाँले गरेका गलत क्रियाकलापका विरुद्ध पार्टीभित्र जमेर लड्छौं, कुरा क्लियर ।’नेपाल पक्षबाट एमालेकै केन्द्रीय सदस्य बनेकी सीता ओली गिरीले कास्कीमा ओली पक्षले जहिल्यै दबाबमा राख्ने गरेको बताइन् । एमाले ब्यूँतिएपछि माथिबाट कस्तो नीति आउँछ त्यही अनुसार आफु चल्ने उनले बताइन् ।





