बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ओलीको सरकार चलाउने हैसियत सकियो : गगन थापा

ओलीको सरकार चलाउने हैसियत सकियो : गगन थापा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७७, बिहिबार

बागलुङ, २७ फागुन– पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेस युवा नेता गगनकुमार थापाले नेकपाको हैसियत सँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सरकार चलाउने हैसियत सकिएको बताएका छन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनताको मतमाथी धोका दिएको भन्दै काम गर्न नसकेकोमा दुवै पक्षले जनतासँग माफी माग्नुपर्ने बताए । नेपाल शिक्षक संघ बागलुङको २० औं र २१ औं जिल्ला प्रतिनिधिसभा बिहिवार उद्घाटन गर्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउने नारा दिएर जनताको पक्षमा काम गर्नु साटो ओलीले धोका दिएको बताए ।

निर्वाचन जितेर गएपछिका कुनै बैठकमा जनताको जीविका बारे एउटा बैठक र बहस नभएको उनले टिप्पणी गरे । ‘कोरोना संकटको एक महिनामा प्रधानमन्त्रीले के गर्छन् भनेर नियाल्दा एकपटक पनि पीडितको बारेमा छलफल समेत नगरेको भेटियो’ थापाले भने, ‘आफ्नै पद जोगाउने झगडा बाहेक जनताले केही देख्न पाएनन् ।’ कांग्रेसले ५० लाख रुपैयाँ लगेर सरकारी खातामा राखिदिंदा समेत सरकार र नेतृत्व गरेको दल झगडामा मस्त थियो । बरु अर्काको पार्टी फुटाउने दौडमा अपहरणको नाटक गरिरहेको उनले आरोप लगाए ।

नेकपाको बैधानिकता समाप्त भएपछि सरकारको पनि बैधानिकता सकिएको भन्दै राजिनामा दिनुपर्नेमा अझैपनि निरंकुश शासकझै बसिरहेको पनि आरोप लगाए । ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन्सेनझै निरंकुश बनेर दल, प्रेस र अदालत समेत कब्जा गर्न खोजेको उनको आरोप छ । गठबन्धनको सरकार बनाएर ठूलो दल भएकोले सबैले महान बनाएको भन्दै पार्टी बिभक्त भैसक्दापनि फेरी जनतालाई आँफै हिरो झै बनेर धोका दिएको पनि उनको टिप्पणी छ । प्रधानमन्त्रीलाई राजिनामा दिएर जनतामा माफी माग्न उनले सुझाव दिए ।

कांग्रेसले नेतृत्व गर्न पाएको बेला ओली सरकारले पारेका भ्वाङ टाल्ने थापाले दावी गरे । ‘आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ती बनेर देशको समृद्धिकालागि काम गरेर देखाउ“छ’ उनले भने, ‘रेल र पानी जहाज ल्याउने मात्र नभइ चाहिने जनशक्ती उत्पादन गर्ने बिकास कांग्रेसले गरेर देखाउँछ ।’ गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा देशमा सबैभन्दा धेरै औद्योगिककरण भएकोमा कम्प्युनिष्टहरुले उद्योग बेचेर खायो भन्ने आरोप लगाउने कुरा मिथ्था भएको थापाले बताए । ‘५ वटा कम्प्युनिष्ट प्रधानमन्त्री हुँदा कतै छाला जुत्ता उद्योग खोले ?’ उनले भने, ‘अनि कांग्रेसले उद्योग बेच्यो भनेर भ्रम मात्रै छर्ने ?’ कांग्रेसले उदार अर्थतन्त्र र नीजिकरणमा ध्यान दिएको बताए ।

शिक्षकहरुको माग प्रति कांग्रेस सचेत हुने उनले बताए । ‘संसदको शिक्षा हेर्ने समितिमा रहेकोले मैलेपनि जायज मागमा अहिलेदेखिनै सम्बोधनको पहल गर्छु’ उनले भने, ‘कांग्रेस सरकारमा आउँदा शिक्षकका सबै माग पुरा हुन्छन् ।’ १८ थरी शिक्षक र ९० थरी समस्या बोकेर हिड्ने दिन अन्त्यकालागि कांग्रेसकै नेतृत्वको सरकार चाहिने उनले बताए । शिक्षकलाई कर्तव्यबाट च्युत हुने बिद्यार्थी उत्पादन नगरी दक्ष जनशक्ती उत्पादनमा लाग्न आग्रह गरे । उनले राम्रो शिक्षक भैदिन आग्रह गर्दै सबैले त्यो शिक्षक कांग्रेस रहेछ, शिक्षक संघको रहेछ भन्ने देखाउने अवस्था ल्याउन पनि आग्रह गरेका थिए ।
कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरत लम्साल, महासचिव लक्ष्मीकिशोर सुवेदी, शिक्षक संघ गण्डकीका अध्यक्ष शिरोमणी लामिछाने, कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा, पूर्व सभापति प्रकाश शर्मा पौडेल, पूर्व राज्यमन्त्री चम्पा खड्का, शिक्षक संघ स्याङजाका अध्यक्ष लक्ष्मी रेग्मी, सम्मानित शिक्षकहरु जगन्नाथ आचार्य, शकुन्तला शर्मा र गण्डकी अधिकारीले बोलेका थिए । कार्यक्रममा अनिवार्य अबकाश पाएका, दिर्घसेवा गरेका र उत्कृष्ठ शिक्षकलाई सम्मान गरेको थियो । समाचार संकलनमा साथ दिएको भन्दै पत्रकार नारायण रिजाल र रामशरण पोखरेललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा महासमिति सदस्य भीम श्रीष, महाधिवेसन प्रतिनिधिहरु हरिहर शर्मा, डिल्लीराम सुवेदी, सागर परियार, शिक्षा किास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्याय, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष इश्वर ठाकुर पौडेल, तरुणदलका अध्यक्ष उमाकान्त शर्मा बाबु, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा लगायतले बोलेका थिए । संघका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षता, सचिव हेमराज गैरेको संचालनमा सम्पन्न कार्यक्रममा गैरे र उपाध्यक्ष सीता शर्माले प्रगती प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->