पोखरा, २९ फागुन– भाँच्चिएको मन लिएर ‘पुरानो घर’ फर्कन बाध्य माधवकुमार नेपाल– झलनाथ खनाल समूहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘दोबाटो’मा हुत्याइदिएका छन् ।
शुक्रबार बालुवाटारमा केन्द्रीय कमिटीको बैठकबाटै अध्यक्ष ओलीले नेपाल–खनाल समूहका सबै नेताहरुको जिम्मेवारी खोसेका हुन् । चतुर माधव–झलनाथको वरिष्ठ पद मात्रै नभएर माधवको विदेश विभाग पनि खोसिदिए, विधान संशोधन गरे । उनले माओवादी केन्द्रबाट आएका नेताहरुलाई जिम्मेवारी दिए । नेकपा हुँदा आफूले गठन गरेका कमिटीहरुलाई वैधानिकता दिए अनि आउँदो मंसिरको लागि एमालेको महाधिवेशन तोकिदिए । एमालेमा यतिबेला अध्यक्षमा ओली र महासचिवमा ईश्वर पोखरेल रहेका छन् । महाधिवेशन तोकेसँगै अध्यक्ष ओली ‘काम चलाउ’ बनेका छन् । आयोजक समितिको रुपमा उनको काम महाधिवेशन सम्पन्न गर्नु हुनेछ । अध्यक्ष ओलीको यो कदमपछि माधव–झलनाथ समूह संकटमा परेको छ । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपाको वैधानिकता ऋषि कट्टेलसँग रहेको भन्दै एमाले र माओवादी केन्द्र ब्यूँत्याइदिएपछि उत्पन्न परिस्थिति साँच्चिकै सो समूहको लागि संकट बनेर आएको छ । गएको पुस ५ मा संसद विघटनको सिफारिस गरेसँगै प्रधानमन्त्री ओली एक्लै हिँड्न लालायित छन् भन्ने पुष्टि भएको थियो । उनी देशमा ध्रुविकरण चाहन्थे र चाहन्छन् । तत्कालीन नेकपा भित्रको प्रचण्ड–माधव समूह ओली इतर ध्रुवमा गए । संसद विघटनको विरोधमा सडक संघर्ष गरे । सदन पुनःस्थापना भयो । ओलीले नैतिकताको आधारमा राजीनामा नदिने अडान लिए । त्यतिबेलाको नेकपाको सबैजसो निर्णायक तहमा बहुमतमा रहेको प्रचण्ड–माधव समूह र ओली दुबैले आफू नेतृत्वको नेकपा नै वैधानिक भएको रटान लगाउँदै आए । तर, सर्वोच्चको फागुन २३ गतेको फैसलाले नेकपा कसको भन्ने झगडालाई नै विषयान्तर गरिदियो । एमाले र माओवादी केन्द्र ब्यूँतिए । प्रचण्ड पुरानो माओवादी केन्द्रको अध्यक्ष बने । उनीसँग चोइदिएका रामबहादुर थापाहरुले ओलीलाई साथ दिए । माधव–झलनाथ भने पुरानै एमालेमा फर्कने निर्णयमा पुगे ।
शुक्रबार ओलीले माधव–झलनाथको एमालेमै फर्कने निर्णयलाई अनुमोदन गरिदिएनन् । उनले नयाँ जिम्मेवारी दिने त के कुरा ? भएका जिम्मेवारी पनि खोसेर दोबाटोमा पु¥याइदिए । आफूसँग आएका रामबहादुरहरुलाई जिम्मेवारी दिएर उनले नयाँ कोणबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने सन्देश प्रवाह गरे । व्यक्तिको रुपमा सर्वशक्तिमान बन्ने चाहनालाई कहिँकतै लुकाएनन् । आफू इतरका समूह र व्यक्तिलाई एमालेमा ठाउँ नभएको प्रष्ट पारिदिए ।
पूर्वएमालेमा माधव–झलनाथको बहुमत नभए पनि राम्रै पकड थियो । स्थायी कमिटी, केन्द्रीय कमिटीमा ४० प्रतिशत र करिब ३५ जिल्लामा आफू निकट अध्यक्ष थिए । त्यही शक्तिले उनीहरु पूर्वएमालेमा ‘वार्गेनिङ’ गर्थे । ओलीको कदमसँगै सो समूहको ‘वार्गेनिङ पावर’ घटेको छ । माधव–झलनाथलाई रक्षात्मक अवस्थामा पु¥यादिएको छ । संयोग कस्तो भने, हिजोका सहयात्री प्रचण्डले बुटबल पुगेर माधव समूह विद्रोह गर्न बाध्य हुने अभिव्यक्ति दिएकै दिन ओलीले त्यस्तै अवस्था बनाइदिए ।
पार्टीभित्र ‘संघर्ष’ गर्ने सन्देशसहित माधव–झलनाथ समूह एमालेमा फर्केको थियो । संघर्षको सन्देशले ओलीलाई झस्काउनु स्वभाविक थियो । अध्यक्षको रुपमा ओली सधैंको कचिंगलो झेल्न तयार भएनन् । विद्रोही समूहलाई उनी पाखा नै लगाउन चाहन्थे । तत्काल पार्टी फुटाउने सामथ्र्य नभएकैले सो समूह गलेको पनि उनले ब बुझेकै थिए । उखान टुक्का हाल्न माहिर ओलीले ‘न रहे बाँस, न बजे बाँसुरी’ भनेजस्तो गरे । उनी गलत छन् कि सही छन्, फरक हो तर अकण्टक बन्न चाहे । वर्षौंसँगै हिँडेकालाई अविश्वास गरेर नयाँ साथी बनाए ।
माधव–झलनाथको एमालेसँग गहिरो प्रेम छ । उनीहरु तत्काल एमाले छाड्न तयार छैनन् । छाड्नै परे पनि यो समूह एमालेकै शक्ति चाहन्थ्यो । तर, अब त्यस्तो रहेन । रामबहादुर थापाले जस्तो ‘कडा निर्णय’ नलिएको समूहसँग भूमिकाविहीन भएर एमालेमै बस्ने कि अर्को समानान्तर पार्टी चलाउने भन्ने दुईवटा बाटा मात्रै बाँकी रहे । ओली हठी र चतुर देखिँदा यो समूह चाहिँ निरीह बन्यो । पार्टीमै बसेर महाधिवेशन कुर्ने, समानान्तर गतिविधि चलाउने वा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा समाहित हुने दुईबाटोमध्ये एक रोज्नैपर्ने भएको छ ।





