बागलुङ, २९ फागुन– कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियता र लोकतन्त्र माथिको बिकृति अन्त्यगर्न कांग्रेस नेतृत्व आवस्यक भएको बताएका छन् ।
नेपाल प्रेस युनियनले शनिवार बिहान बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भित्राएको बिकृतिमा अदालतले अर्को विकृती थपिदिएको टिप्पणी गरे । ‘अदालतको फैसला पनि अर्को बिकृति हो’ पौडेलले भने, ‘नैतिकता गुम्दापनि राजिनामा नदिने केपीको काम अर्को बिकृति हो ।’ सबै बिकृति अन्त्य गर्ने र लोकतन्त्रको रक्षाकालागि कांग्रेस नेतृत्वमा जानुपर्ने आबस्यकता आएको पौडेलको भनाइ छ ।
‘केपी ओलीले भित्राएको बिकृतिमा अदालतले अर्को विकृति थपिदियो’ पौडेलले भने, ‘माग्दै नमागेको बिषयमा हात हालेर देशको राजनीतिक बिषयमा थप जटिलता थपिएको छ ।’ नैतिकता नभएका ओली बिरुद्ध कांग्रेस लाग्नै पर्ने आबस्यकता उनले औल्याए । ‘लामो समय सम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ भनेर सभापतिलाई रोकेको थिए, हिजोको बैठकमा जसरीपनि ओली हटाउनुपर्छ भनेर म्यान्डेड दिएका छौं’ पौडेलले भने, ‘बिकृति बिरुद्ध कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन ।’ देश डुब्न लाग्दा कम्प्युनिष्टले केही गरेनन् भनेर हेर्ने नभइ जिम्मेवारीको का“ध थाप्नुपर्छ भनेर नेतृत्व लिन लगाएको बताए ।
देशभित्रका प्रतिक्रान्तिबादी र अन्तराष्ट्रिय षडयन्त्रबाट ओलीलाई टिकाउने खेल भएपछि ओली मुक्त सरकार चाहिएको उनको टिप्पणी थियो । ‘केपी ओली जतिदिन शासनमा बस्छन् त्यति देश बर्बादिमा जा“दैछ’ पौडेलले भने ‘राष्ट्रको भविष्य खतरामा परेकोले माओवादी र जसपा मिलेर ओली हटाउन काम सुरु भयो ।’ सकेसम्म कांग्रेस नेतृत्व, नभए माओवादी वा जसपाकै नेतृत्व ल्याएरपनि ओली हटाउनुपर्ने उनले औल्याए । हलो अड्काएर कांग्रेसले ओलीलाई टिकाउने खेल नखेल्ने उनले बताए । पौडेलले शनिवार बागलुङमा कार्यकर्ता भेटघाट, नेपाल शिक्षक संघ गण्डकीको भेला उद्घाटन लगायतका कार्यक्रममा सहभागि हुनेछन् ।





