बागलुङ, २९ फागुन– शिक्षकहरुको पेशागत हितका लागि सरकारसँग भएका सम्झौता तत्काल पालना हुनुपर्ने लगायतका मुद्दा पारित गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेशको दोश्रो र तेस्रो प्रतिनिधिसभा सम्पन्न भएको छ ।
भेलाले शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट बिनियोजन गर्नुपर्ने, शिक्षक र बिद्यालय कर्मचारीको तलब वृद्धि, शिक्षक तथा बिद्यार्थीकोलागि अस्पताल निर्माण, दुर्गम क्षेत्रमा काम गर्ने शिक्षक र कर्मचारीको सेवासुबिधाको बिभेद अन्त्य गर्नुपर्ने दरबन्दी मिलान तथा तत्काल संघिय शिक्षा ऐन ल्याउनुपर्ने लगायतका माग समेत गरिएको छ ।
बाल शिक्षामा पढाउने शिक्षकलाई न्युनतम तलब सुबिधा दिन पनि भेलाले माग गरेको छ । भेलामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ४ सयबढी शिक्षकको उपस्थिति थियो । भेलाको उद्घाटन गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षकका समस्या समाधानकालागि पार्टी सकारात्मक रहेको बताए । कांग्रेस नेतृत्वमा सरकार बन्ने संभावना रहेको भन्दै पौडेलले ती सम्झौता अनुसारका माग पुरा गर्ने प्रतिवद्धता पनि जनाए ।
पौडेलले शिक्षकहरुलेपनि मेहेनत बढाउनुपर्ने सुझाव दिए । ‘सबैको रोजाइ शिक्षण पेशा हुने गरी काम गर्नुहोला’ उनले भने, ‘म¥र्यादित पेशा अंगाल्ने चाहना राख्नेहरुले पेशालाइपनि उत्तिकै म¥र्यादित बनाउनु पर्नेछ ।’ उनले संविधानको अन्तरबस्तु बिद्यालय तहबाटै पढाउँदा बालबालिकाले लोकतन्त्र, बहुलवाद र समावेशीकरणको अवधारणा बुझ्ने भन्दै त्यसले प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गर्ने बताए ।
शिक्षा ऐन नआएकोले स्थानीय पालिकाले मनोमानी काम गरेको बिषय शिक्षकहरुले उठाएका थिए । भेलामा गण्डकी प्रदेश भरका सहिद शिक्षकका परिवारलाई सम्मान गरिएको थियो । पेशाको क्रममा तथा राजनीतिक बिषयमा सत्ता र बिद्रोही पक्षबाट मारिएका शिक्षकको सम्मान गरिएको संघको गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले बताए ।
तीन दिनदेखि शिक्षकहरुका भेला र कार्यक्रमहरु भैरहेका छन् । बिहिवार जिल्ला भेलामा संघले १ सय जना शिक्षकलाई सम्मान गरेको थियो । शुक्रवार जिल्लाका महिला शिक्षककालागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । शनिवार गण्डकी प्रदेशको भेला सम्पन्न भएको हो ।
भेलामा संघका केन्द्रीय उपाध्यक्ष भरत लम्साल, महासचिव लक्ष्मीकिसोर सुवेदी, कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचन, किरणराज पौडेल, पार्टी सभापति दिपेन्द्रबहादुर थापा लगायतले शिक्षकले गाउँ तहसम्म राजनीति धानेको कारण कांग्रेसले आफ्नो संगठन बिस्तार गर्न पाएको भन्दै शिक्षकको भूमिकाको प्रसंसा समेत गरेका थिए । उनीहरुले पंचायत कालमा झै शिक्षण पेशालाई गुणस्तरीय बनाएर राजनीतिक रुपमा पनि साथ दिन समेत शिक्षकलाई आग्रह गरेका थिए ।





