तनहुँ, ३ चैत– तनहुँमा १७ हजार जेष्ठ नागरिकले कोरोनाको खोप लगाएका छन् । फागुन २३ देखी सुरु भएको दोस्रो चरण अन्तर्गत पहिलो प्राथमिकतामा परेको ६५ बर्ष माथीका १६ हजार ९ सय ९५ जना जेष्ठ नागरिकले पहिलो मात्राको खोप लगाएका हुन् ।
‘कोभि शिल्ड’ लगाउन खोप केन्द्रमा जेष्ठ नागरिक उत्साह पुर्वक पुगेका थिए । कतिले भने त्रासका कारण खोप लगाउन मानेन् ।
भिमाद नगरपालिका–९ अस्पाक्दीकी ९१ बर्षीया तिलीसरा आलेले खोप लगाएपछि कोरोना हुदैन् भनेर ढुक्कको साथ लगाएको बताईन् । रिठाभञ्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर खोप लगाएकी उनले प्रश्न गर्दै भनिन्, ‘सबैले लगाएको खोप लाउनलाई के का डर ।’
शुक्लागण्डकी–३ कवासेका ७२ बर्षीय कमलराज शर्मा पौडेलले दुलेगौँडा बजारमास्थित खैरेनीटार स्वास्थ्य चौकीमा पुगेर खोप लगाए । पहिला जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने भन्दा उनलाई शंक लाग्या थ्यो रे । ‘पहिला त सरकारले ६५ बर्ष माथीकालाई खोप दिने भन्दा केही खतरा भएर मरेनी यिनै बुढाबुढी पहिला मरुन भनेर होला की भन्ने शंका नि थियो । पछि ठुलठुला मान्छेले नि लगाए रे भनेसी त्यस्तो हैन भन्ने भो’,उनले भने, ‘आज त आफैले पनि ढुक्क भएर खोप लगाएको छु ।’ खोप लगाएपछि कोरोना लाग्दैन् भन्ने उनलाई लागेको छ ।
खोप लगाउन तोकिएको खोप केन्द्रसम्म उत्साहका साथ जेष्ठ नागरिक लौरीको साहरामा पुगे । कतिलाई आफन्तले खोप लाउन डो¥याउदै ल्याएका थिए । जेष्ठ नागरिकलाई असहज नहोस् भनेर खोप केन्द्रमा पनि बसाईको व्यवस्था मिलाईएको थियो । कतिपय स्थानमा खोप केन्द्र टाढा हुदाँ सास्ती भोग्नु प¥यो । ग्रामिण भेगमा नजिक स्वास्थ्य केन्द्र नहुदाँ बुढेसकालमा घण्टौँको बाटो पैदल हिँडेर पुग्नुपर्ने बाध्यता रहेको छ ।
कोरोनाको खोप लगाउन जेष्ठ नागरिकले सक्रिय सहभागिता जनाएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तले बताए । ‘बुढाबुढीलाई पनि सरकारले प्राथमिकता दिएर खोप लगाउन दियो भन्दै खुशी हुदै आएको पायौँ’, उनले भने ।
तनहुँमा फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा ६५ बर्ष माथीकालाई खोप लगाई सकिएको छ । यि स्थानिय तहमा नौ हजार दुई सय ६७ जना जेष्ठ नागरिकले ‘कोभि शिल्ड’ लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँका कोल्डचेन असिस्टेन्ट विरेन्द्रकुमार चौधारीले जानकारी दिए ।
फागुन २८ गते देखी चैत २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा शुक्रबारदेखी खोप अभियान चलेको थियो । यो अवधिमा सात हजार सात सय ४६ जना जेष्ठ नागरिकले खोप लगाएको जिल्ला जनस्वाथ्य कार्यालयले जनाएको छ ।
खोप लगाउनका लागि जिल्लाका दश स्थानिय तहमा ९४ वटा खोप केन्द्र निर्धारण गरिएको थियो ।
तनहुँमा पहिलो चरणमा चार हजार नौ सय ६७ जनाले खोप लगाएका थिए । पहिलो चरणमा फ्रन्टलाईनर स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधी, पत्रकार लगायतलाई खोप लगाईएको थियो । हालसम्म जिल्लाका २१ हजार नौ सय ६२ जनाले ‘कोभि शिल्ड’ को पहिलो मात्रा लगाएका छन् ।





