बागलुङ, ४ चैत– बागलुङमा कला साहित्य र संकृतिको क्षेत्रमा योगदना गर्नेहरुलाई पुरस्कृत गर्न अक्षयकोष स्थपाना भएको छ । बागलुङ नगरपालिकाले ‘वीरशाली पन्त स्मृति साहित्य पुरस्कार कोष’ स्थापना गरेको हो । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अन्तर्गत नगरले पाँच लाख रुपैयाँको कोष स्थापना गरेको जनाएको छ । बागलुङका पुराना साहित्यकार वीरशाली पन्तको स्मृति हरेक बर्ष कला साहित्य र संकृतिको क्षेत्रमा योगदान पु¥याउनेहरुलाई कोषबाट प्राप्त व्याज रकमले पुरस्कृत गरिने छ । ‘साहित्यको क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गर्ने हाम्रो नीति छ’ चालु बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख जनकराज पौडेलले भनेका थिए ‘पुराना श्रष्टाको सम्मान र नयाँ श्रष्टालाई प्रोत्साहन गर्नु हाम्रो दायीत्व हो ।’ नगरपालिकाले कोषबाट पुरस्कृत हुने साहित्यकारको छनौटका लागि साहित्यकार प्रेम छोटा संयोजक रहेको ७ सदस्यीय सिफारीस समिति बनाएको छ । समितिको सिफारीसमा नगरले कार्यपालिकाको निर्णय अनुसार नगरसभामा पुरस्कार वितरण गर्ने कार्यबिधि बनाईएको छ । सिफारीस समितिमा महेश प्रधान, काजीगाउँले श्रेष्ठ, हरि प्रसाद पाण्डे र गोविन्द गौतम सदस्य रहेका छन् । धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख र पन्त समाज बागलुङका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको नगरप्रमुख पौडेलले बताए । बागलुङ नगरपालिकाले सम्झीएका वीरशाली पन्त हाल बागलुङ नगरपालिका–७ मा जन्मिएर नेपाली साहित्यको क्षेत्रमा उदाएका कवी हुन् । उनलाई धेरैले आदिकवीको उपमा समेत दिने गरेका छन् ।





