
काठमाण्डौ, ४ चैत– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५५ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम केही दिनका लागि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागका प्रमुख दीपेन्द्ररमण सिंहका अनुसार सरकारको निर्धारित कार्यक्रम अनुसार बुधबारदेखि ५५ वर्ष उमेर समूह माथिकालाई खोप लगाउने योजना थियो । उनले भने, ‘खोप अभियान नै रद्द भएको होइन, पहिले ५५ वर्षदेखि माथिकालाई पहिले वा दीर्घ रोगीलाई लगाउने भन्नेबारे छलफल हुँदैछ, निर्णय भएपछि खोप अभियान सुचारू हुन्छ ।’ खोप सकिएकाले नलगाइएको हो भन्ने प्रश्नमा सिंहले भने, ‘खोप उपलब्ध छ, कार्यक्रम रोकिँदैन, एक(दुई दिनमा खोप लगाउन शुरू गरिनेछ, आज मन्त्रालयमा यस विषयमा छलफल हुँदैछ ।’
बाहिर हल्ला भएजस्तो खोप नसकिएको उनले जानकारी दिए । प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकोले केही दिनमै खोप अभियान शुरू गरिने उनको भनाइ छ ।
६५ वर्ष उमेर माथिकालाई खोप लगाउने कार्यक्रम आजदेखि सकिएको छ । पहिलो चरणमा कोभिशील्ड खोप माघ १४ गतेदेखि २४ गतेसम्म लगाइएको थियो ।





