पोखरा, ४ चैत–फुटबल खेलको विकासमा क्रियाशि क्लब मध्ये पोखरा–२६ हेम्जा युनाइटेड पनि एक हो । फुटबल खेललाई अघि बढाउँदै क्लबले वर्षेनी फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको थियो । क्लबले आयोजना गरेको प्रतियोगिताको छैटौँ संस्करणमा आइपुग्दा भने गोल्डकपमा परिणत भएको छ । पाचौँ संस्करणसम्मको प्रतियोगिता सम्पन्न गरिरहँदा गण्डकी प्रदेशभित्रका विभिन्न प्रदेश स्तरीय क्लबहरु बिच प्रतिस्पर्धा गरेपनि क्लबले अब भने ए डिभिजनका क्लबहरु समेत सहभागि गराउने भएको छ । क्लबले गोल्डकपका लागि अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन गरेको थियो । सोहि निवेदनलाई स्विकृत गर्दै क्लबले आगामी जेठको पहिलो साताको मिति पाएको छ । गत वर्ष कोरोना भाइरस महामारीको कारण प्रतियोगिता स्थिगित गरिएको थियो । जेठ १ गते देखि ८ गतेसम्म हुने प्रतियोगितामा आयोजक सहित ए डिभिजन र वि डिभिजनका क्लबहरुको सहभागिता रहने हेम्जा युनाइटेडका अध्यक्ष इन्द्र कुवँरले जानकारी दिए । प्रतियोगितामा ८ टिमको सहभागिता रहने उनले बताए ।
एन्फाले गोल्डकपको स्विकृत दिएसंगै शुभकामना कपबाट गोल्डकपमा परिणत भएको गण्डकी प्रदेश फुटबल संघका प्रवक्ता रमेश कार्कीले जानकारी दिए । स्विकृत संगै एन्फाले प्रतियोगिता हुनु भन्दा १० दिन अघि प्रतियोगिताको नियमावली र खेल तालिका उपलब्ध गराउनुपर्ने बताएको छ । यस्तै प्रतियोगिता सम्पन्न पश्चात सचिवालयमा प्रतिवेदन बुझाउनुपर्ने निर्देशन सहित स्विकृत गरेको कार्कीले बताए । स्विकृत पत्रमा ‘शुभकामना गोल्डकप फुटबल प्रतियोगिता २०७७÷०७८ को संचालनार्थ आवस्यक स्विकृतको माग भएबमोजिम मिति २०७८ जेठ १ गते देखि ८ गतेसम्म प्रतियोगिता संचालन गर्नका लागि आवस्यक स्विकृत प्रदान गरिएको छ ।’
यो संगै हेम्जा युनाइटेडले प्रतियोगिताको स्तरमा समेत फड्को मारेको छ । पोखरामा आयोजना हुने चर्चित आहा ! रारा गोल्डकप, मनकामना गोल्डकप पछि अब शुभकामना गोल्डप थपिएको छ ।




