पोखरा, ६ चैत– पोखरा रंगशाला भलिबल मैदानमा चैत ११ गते देखि तेस्रो सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको आयोजनामा सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा जिल्लाभित्र रहेका सामुदायिक विद्यालयहरु मध्येबाट करिब ५० विद्यालयको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताको विजेता छात्र÷छात्रा दुवै टोलीले समान ७०–७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले भने समान ३५–३५ तथा तेस्रो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५–५ हजार र विधागत उत्कृष्ट खेलाडीहरुलाई १–१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिए । प्रतियोगिताबाट १ लाख रुपैयाँ बचत गर्ने लक्ष्य लिइएको छ भने करिब १० लाख खर्च हुने अनुमान गरिएको छ ।




