बागलुङ, ६ चैत– रोट्रयाक्ट क्लब अफ बागलुङले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । शुक्रवारदेखि सुरु हुने कार्यक्रममा अधिकांस सेवामूलक कार्यक्रमहरु छन् ।
सप्ताहमा पहिलो दिन उपास्ना कंडेलको संयोजकत्वमा निरयघाटमा खाद्यान्न तथा फलफूल बितरण कार्यक्रम राखिएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा मुल संयोजक सौरभ केसीले कार्यक्रमको जानकारी गराएका थिए ।
शनिबार पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्नका लागि हाइकिङ कार्यक्रम राखिएको हो । सागर थापा क्षेत्रीको संयोजकत्वमा युवाहरुले भकुण्डे भ्रमण गर्नेछन् । आइतबार उपल्लाचौर आधारभूत बिद्यालयमा फस्टएड बक्स बितरण कार्यक्रम राखिएको छ । नितु खड्का संयोजक रहेको समितिले स्वास्थ्य क्षेत्रको काम गर्नेछ ।
सोमबार नेपाल पत्रकार महासंघसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता राखिएको छ । त्यसका लागि बिरोष क्षेत्री संयोजक छन् ।
मंगलबार लामो पुल र ट्राफिक कार्यालय नजिक बोर्ड व्यवस्थापन राखिएको छ । त्यसका लागि संयोजन गर्न रेजिना रोकालाई तोकिएको केसीले जानकारी दिए । बुधवार ट्राफिक सचेतना सहित स्टिकर बितरण कार्यक्रम छ । किसोर सापकोटाको संयोजकत्वमा युवाहरुले मोटरसाइकल र स्कुटरमा सचेतना मूलक स्टिकर बनाएर टाँस्ने कार्यक्रम राखेको हो ।
बिहिबार छात्रवृत्तिसहित समापन कार्यक्रम गरिनेछ । सुस्मिता केसी संयोजक रहेको समितिले देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट छात्रवृत्ति दिने कार्यक्रम रहने बताइएको छ । क्लबका अध्यक्ष ताराप्रसाद शर्माको अध्यक्षता, संचार संयोजक खेमराज गौतम सुवासको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका सचिव राम थापा अविरलले पनि शुभकामना व्यक्त गरेका थिए ।





