बागलुङ, ९ चैत– नेपाल बिद्यार्थी संघ बागलुङले संघको ५० औं स्थापना दिवशको अवसर पारेर जिल्लाव्यापी एक महिने बिद्यार्थी जागरण अभियान थालेको छ ।
संघले शनिवारदेखि बागलुङको संसदीय निर्वाचन र प्रदेश निर्वाचन क्षेत्र अनुसारका प्रशिक्षण, भेला र जागरण अभियान चलाएको जिल्ला अध्यक्ष खड्ग थापाले बताए । २०२७ सालमा स्थापना भएको नेबिसंघले आगामी बैसाख ६ र ७ गते ५० औं वर्षगाँठ मनाउँदैछ ।
जागरण अभियानको पहिलो कार्यक्रम बागलुङ निर्वाचन क्षेत्र नं. १ को ‘ख’बाट थालिएको हो । यो अभियानमा बरेङ गाउँपालिका, जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाको बलेवाका ३ वटा वडालाई समावेश गरिएको हो । वडा तहमा जागरण र संगठन बिस्तार अभियान चलाएको नेविसंघले पालिका तहमा भने प्रशिक्षण गराएको थापाले बताए ।
प्रशिक्षणका लागि कांग्रेस केन्द्रीय आमन्त्रित सदस्य किरणराज पौडेल, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, कांग्रेस क्षेत्रीय सभापति नारायण पौडेल, नेविसंघ क्षेत्रीय सभापति प्रेम सापकोटा र कांग्रेस क्षेत्रीय सचिव बिष्णु आचार्यले प्रशिक्षण दिएका छन् ।
जिल्लाव्यापी अभियानअन्र्तगत चैत १४ गते बुर्तिवाङमा प्रशिक्षण हुनेछ । निसीखोला र तमानखोलामा संगठन बिस्तरपछि उनीहरुलाई प्रशिक्षणमा ल्याइनेछ । चैत २१ गते गलकोटमा कार्यक्रम राखेर ताराखोला र बडिगाडबाट पनि सहभागि ल्याइने उनले बताए ।
चैत २८ गते बानपाका ११ वडा र काठेखोलाका सहभागीलाई बागलुङ बजारमा प्रशिक्षण गराइनेछ । बैसाख ६ र ७ गते स्थापना दिवशको मुल कार्यक्रम पनि सदरमुकाममै गर्ने योजना थापाले जानकारी दिए ।





