लण्डन, ११ चैत – गण्डकी प्रदेशको खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरूङको सम्मानमा आईतबार बेलायतमा भर्चुवल कार्यक्रम सम्पन्न भएको छ। उनको सम्मानका लागी तथा गण्डकी प्रदेशमा खेलकुदलाई कसरी सहयोग गर्न सकिन्छ भनेर यहाँका खेलप्रेमी एवं समाजसेवीहरूले गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूके गठन गरी पुर्वखेलाडी समेत रहेका समाजसेवी मीनप्रसाद गुरूङलाई संयोजक तोकिएको थियो। अब छिटै नै यस मञ्चलाई संस्थागत गर्न यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाहरूका प्रतिनिधिहरू, पत्रकार एवं अन्य खेलसंग सम्बन्धित संस्थाहरूका प्रतिनिधिहरु थपी एक बलियो संस्था बनाउने संयोजक गुरूङले वताए ।
करीब ८० जनाको सहभागिता रहेको सम्मान कार्यक्रममा प्रमुख अतिथीका रुपमा एनआरएनए केन्द्रका अध्यक्ष कुमार पन्त रहेका थिए। पन्तले अहिले नै यो योजनामा सहकार्य गर्ने भन्न खाका आँफुसंग नभए पनि परिषद्को यस कार्यकार्यमा कुनै न कुनै एउटा परियोजनामा मिलेर काम गर्न बताए । एनआरएनएले संस्थागत रुपमा सहयोग गर्न प्रयत्न गर्ने र त्यसो हुन नसके पनि व्यक्तिगत तवरबाट भए पनि आंफुले सहयोग गर्ने उनको भनाई थियो । कार्यक्रममा गण्डकी प्रदेश भित्र पर्ने विभिन्न जिल्लाका बेलायतमा गठित समाजहरूका प्रतिनिधिहरूले आआफ्नो धारणा राखेका थिए । सम्बन्धित जिल्लामा रहेका कतिपय प्रख्यात खेलहरू संरक्षणको अभावमा हराउंदै गएका कारण यसतर्फ ध्यान दिन उनीहरुले अनुरोध गरेका थिए।
जिल्लाका प्रतिनिधिहरूले मन्तव्य राख्ने क्रममा अन्तराष्ट्रिय बाग्लुङ समाजका उपाध्यक्ष कृष्ण शर्माले आफ्नो जिल्ला समाजको तर्फबाट पुर्ण सहयोग रहने बताउदै सदस्यसचिवको कार्यकाल अझ सफल पार्ने जीटुजी मार्फत कतिपय कामहरु गर्न सके प्रभावकारी हुने सुझाव दिए।
एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले खेलकुदमा महिलाहरूको सहभागित बढाउनतर्फ जोड दिन अनुरोध गरेकी थिईन ।
गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरूङ
सुझावहरूलाई सम्वोधन गर्दै सदस्यसचिव गुरुङले आँफुलाई यसरी सम्मान दिएर थप काम गर्ने हौसला प्रदान गरेको बताए। बेलायतमा रहने नेपालीहरूले आँफुलाई पहिलादेखी मनोबल प्रदान गर्दै आएको जनाउँदै सन् २००४ मा पोखरा रंगशालाको पर्खाल बनाउने बेलायतबाट समाजसेवी सुर्य गुरूङको पहलमा पचास लाख भन्दा बढी रकम उठाएर पठाएको र त्यसैको जगमा अहिले सबैलाई आर्कषण गर्न सक्ने केन्द्र बनेको स्मरण पनि गरे।
आफ्नो कार्यकालमा आफ्ना केही महत्वपुर्ण अभियानहरू रहेको बताउँदै भावी कार्ययोजना स्वरूप ७ वटा बुँदामा प्रस्तुत गरेका थिए । वक्ताहरू उठाएका खेलकुद विश्वविद्यालय, बेलायत सरकार र गण्डकी प्रदेश बीच हुन सक्न मितेरी सम्बन्ध गास्न अगी बढ्न अनुरोध गरेका थिए। उनले लोप उन्मुख खेलका रूपमा रहेका कतिपय खेलहरूलाई संरक्षण गर्ने प्रसंगमा छेलो खेललाई प्रवद्धन गर्न बीस लाख बजेट पनि छुट्टि सकेको बताए। उनले खेलकुदमा व्यवसायीक लगानी गर्न पनि अबसर रहेकोले एनआरएनए जस्ता संस्थाले केहि गर्न सके प्रभावकारी हुने बताए ।
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै एनआरएन यूकेका पुर्व अध्यक्ष एवं समाजसेवी सुर्य गुरुङले गण्डकी प्रदेशले एक सक्षम व्यक्ति प्राप्त गरेको र अब उक्त अवसरलाई हामी बाहिर बसेर देशका लागी सोच्ने र केही गर्नेहरूलाई यसले जोड्ने बताए। कार्यक्रमको संचालन प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष समेत रहेका समाजिक अभियन्ता भक्त गुरूङले गरेका थिए ।




