पोखरा, ११ चैत– वार्जन प्रिजेन्टस प्रथम खुल्ला फुटसल प्रतियोगिताको क्वाटरफाइनलका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् ।
पोखरा–४ गणेशटोल स्थिति स्पोर्टस क्यासलमा जारी प्रतियोगिता अन्तर्गत बुधवार भएको भएको पहिलो क्वाटरफाइनल खेलमा शंखमुल काठमाण्डौँले भ्याली स्पोट्र्स क्लब पोखरालाई २–० ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । यस्तै दोस्रो क्वाटरफाइनल खेलमा डुङ्गाले हिमाल एण्ड रक्षा शिशुवालाई ४–२ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
तेस्रो खेलमा ढिकु हव काठमाण्डौँले आयोजक वार्जन ब्रदर्सलाई ६–० को फराकिलो गोलअन्तरले पाखा लगायो । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा फन्कि बिन्सले दीप युनाइटेडलाई ७–२ को फराकिलो अन्तरले पाखा लगायो ।
१० गते देखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन प्रि–क्वाटर तथा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको आयोजकले जानकारी दियो । प्रतियोगिता अन्तगर्त बिहिवार काठमाण्डौँका शंखमुल र ढिकु हव फुटसल तथा पोखराका डुङ्गा र फन्कि बिन्स बिच सेमिफाइनल खेल हुनेछन् । यस्तै शुक्रवार नै फाइनल खेल समेत सम्पन्न हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीले समान १०–१० हजार रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।




