पोखरा, १४ चैत– नेपालको संविधान र कानुनले छुवाछुतलाई अपराध ठहर्दै दण्ड सजायको व्यवस्था गरेको छ । तर, कार्यान्वयन नहुँदा समाजबाट छुवाछुत पूर्णरुपमा हट्न सकेको छैन । संविधानले राज्यको चरित्र समावेशी हुनुपर्ने उल्लख गरेको छ । तर, सरकारका तीनै तहले पालना गरेको देखिँदैन ।
जनप्रतिनिधि भएपनि सो अनुसार व्यवहार नपाएको र सही गर्न मात्र राखेको जस्तो व्यवहार स्वयं दलित महिला प्रतिनिधिले बेलाबखत बोल्ने गर्छन् । अन्यत्र यस्तो अवस्था रहँदा कास्कीको रुपा गाउँपालिका २ मा भने फरक चित्र देखिन्छ ।
दलित महिला सदस्यमा निर्वाचित भएकी उक्त वडाका वडा सदस्य हिता रुपाखेती कार्यवाहक वडाध्यक्ष छिन् । वडामा रहेका सदस्यमध्ये उमेरले जेष्ठ सदस्य भएकाले उनले कार्यवाहक वडाध्यक्ष पाएकी हुन् । नेतृत्व गर्ने अवसर पाए दलित महिला सदस्यले पनि नमुना काम गर्न सक्छन् भन्ने उदाहरण उनले पेश गरेकी छिन् ।
रुपा २ बाट महिला दलित सदस्यमा निर्वाचित भएकी थिइन्, ४६ वर्षीय हिता रुपाखेती । निर्वाचित भएको तीन महिनामै उनले दलित महिला सदस्यबाट कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नुप¥यो, वडाअध्यक्षले उनलाई नै कार्यवाहक दिए ।
उक्त वडामा वडा अध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार हरिकृष्ण ओझाले जितेका थिए भने बाँकी ४ जना सदस्य नेकपा एमालेका उम्मेदवारले । कामको शिलशिलामा पोखरा बस्नुपर्ने भएपछि वडा अध्यक्ष हरिकृष्णले हितालाई नै कार्यवाहक सुम्पिए ।
निर्वाचित भएको ३ महिनामै रुपाखेतीलाई कार्यवाहक अध्यक्ष दिएका हरिकृष्ण ४ महिनापछि फेरी वडा कार्यालयमा आए । हिताले ‘वडाध्यक्ष अब तपाईं नै चलाउनुस्’ भनिन् । वडा अध्यक्ष हरिकृष्णले जवाफ फर्काए– ‘तपाईंले धेरै राम्रो काम गर्नुभएको छ, तपाईं नै चलाउनुस् ।’
वडाध्यक्ष हरिकृष्णले ४ वर्षमा पटक पटक गरी एक वर्षमात्र वडा अध्यक्षका रुपमा काम गरे । बाँकी अवधि हिताले नै कार्यवाहक भएर चलाइन् । गत दशैंसम्म नेपालमै रहेका वडा अध्यक्ष अहिले जापान पुगेको हिताले बताइन् । ‘हामीले भनेर त जानुभएको छैन, तर गाउँतिर सबैले उहाँ त जापान जानुभयो भन्छन्,’ उनले भनिन्, ‘उहाँले मलाई कार्यवाहक वडाध्यक्ष लेखेर दिएको कागज बोकेर हिँडेको छु ।’
हिताले आफ्नै बलबुतामा वडामा केही काम पनि गरेकी छिन् । दलित महिला सदस्य भएर निर्वाचन जिेतेकी उनले दलितका लागि योजना लागु गरेको बताइन् । वडाका दलित परिवारको आर्थिक अवस्था उकास्न प्रत्येक वर्ष १० घरलाई सुंगुर वा बुंगुरका बच्चा वितरण गर्ने उनको कार्यक्रम छ । ‘हामी दलितको जीवन सुधार्न त्यो कार्यक्रम ल्याइयो’, उनले भनिन्, ‘म कार्यवाहक वडा अध्यक्ष हुन्थिन भने यो कार्यक्रम आउँथेन ।’ उनको वडामा अहिले ६० घर दलित समुदायका छन् ।
हिताले आफ्नो वडामा दलित भवन बनाउँदैछिन् । गाउँपालिकासँग बजेट मागेर १३ लाख रुपैयाँमा उक्त भवन बनाउन लागेकी हुन् । ‘हामी दलितलाई बस्ने ठाउँ थिएन, मिटिङ बस्न प¥यो भने बुटामुनि बस्नुपथ्र्यो,’ उनले भने, ‘हामी दलितलाई पनि एउटा भवन चाहियो भनेर बनाउँदैछौं ।’
गाउँमा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई स्कुल लैजान हिताले सहयोग जुटाएकी छिन् । विभिन्न संघ–संस्थासँग सहकार्य गरेर उनले दलित बालबालिकालाई स्कुल ड्रेस र कापी, कलम जुटाइदिन्छन् । माध्यमिक तहसम्म किताब त सरकारले नै दिन्छ ।
वडाका टोलटोलमा उनले कृषक समुह बनाएकी छिन् । गाउँपालिकाले कृषक समुहलाई २० प्रतिशत अनुदान दिने नीति लिएको छ । उनले आफ्नो वडाका किसानलाई त्यो सुविधा लिन र कृषिमा लाग्न प्रोत्साहन गरेकी छिन् ।
कार्यवाहक वडाध्यक्ष हिताकै सक्रियतामा अहिले रुपा–२ मा विद्यालय भवन बनिसकेका छन् भने ४ वटा खानेपानी आयोजना सकिएको छ । वडामा तरकारी र बाख्रापालनको २ वटा पकेट क्षेत्र बनाएर कृषिलाई अघि बढाएकी छिन् ।
वडाबासीको हितमा खटिएकी हिता अनुगमनमा पनि उत्तिकै जान्छिन् । वडाबाट पाएको सुविधा सदुपयोग भयो कि भएन भनेर घरघरमै पुग्छिन् उनी । ‘गाउँमा सुंगुरको बच्चा बाँडेपछि कतिले बेच्लान्, कतिले काटेर खालान् भनेर हेर्न गइराख्छु,’ उनले भनिन्, ‘गाउँमा कसैको घरमा कुनै समस्या प¥यो कि मलाई बोलाउँछन् ।’
हिताको यो सक्रियता देख्दा गाउँपालिका अध्यक्ष नवराज ओझा पनि दंग पर्छन् । ‘उहाँका योजना ठूला हुँदैनन्, धेरै बजेट चाहिने हुँदैनन,’ वडाध्यक्ष ओझाले भने, साना हुन्छन्, ‘स्वीकृत नगर्दासम्म ढिपी कस्नुहुन्छ ।’ हिताको माग सानो भएपनि सामान्य नागरिकका जीवनस्तर सुधार्ने खालको भएको उनले बताए ।
अरु नपाएर हितालाई रोजे
‘मैले पहिला यस्तो बुन्थें’ गलामा लगाएको ढाकाको गलबन्दी देखाउँदै हिताले भनिन् । पोखरामा विन्ध्यावासिनी ढाका उद्योगमा बसेर ढाका बुन्ने काम गरेकी हिताले पछि गाउँ फर्किन् । गाउँ फर्कदा उनी एक्लै गइनन्, ४ वटा ढाका बुन्ने तान पनि लगिन् । घरमा भएका दिदीलाई पनि उनले ढाका बुन्न सिकाइन् ।
गाउँ फर्केर ढाका बन्ने र बजारमा बेच्न थालिन् । साथसाथै मकै, कोदो लगायत अन्नबाली र पशुपालनलाई पनि निरन्तरता दिइन् । अहिले पनि उनको खोरमा ७ वटा माउ सुंगुरका ५ वटा बच्चा छन् । गाउँमै बसेर ढाका बुन्ने र खेतीपातीमा लाग्दा लाग्दै उनी सामाजिक संस्थाहरुमा आवद्ध भइन् । सामाजिक क्रियाकलाप अघि बढाइन् ।
यत्तिकैमा उनलाई गाउँमा एमालेका कार्यकर्ताले पार्टीमा राख्यो । स्थानीय निर्वाचन हुनुअघि उनी तत्कालिन एमालेको गाउँ कमिटी उपाध्यक्ष भएकी थिइन् । संघ संस्थाका कार्यक्रममा सक्रिय बनेकी हिता पार्टीका कार्यक्रममा त झन् नहिँड्ने कुरै भएन ।
स्थानीय तहको पुनसंरचना भएर निर्वाचनको मिति तोकियो, दलहरु उम्मेदवार खोज्न गाउँ पसे । संविधानमै वडा समितिमा दलित महिला सदस्य अनिवार्य हुनुपर्ने उल्लेख थियो । एमालेले हितालाई उक्त कोटाबाट उम्मेदवार बनायो । ‘पार्टीले तपाईं नै अरु मान्छे पाइएन, दलित महिला कोटामा उठ्नुप¥यो भन्न आए’, उनले भनिन्, ‘घर परिवारबाट पनि साथ थियो, ल हुन्छ भनिदिएँ ।’ उनी उम्मेदवार बन्ने भएपछि गाउँका दलित समुदाय पनि खुशी भए ।
दलित महिला सदस्यबाट कार्यवाहक वडाध्यक्ष बनेकी हिता आउँदो निर्वाचनमा वडा अध्यक्षको टिकट पाउनेमा भने शंका गर्छिन् । ‘मेरो कामको कत्तिको मुल्य–मान्यता भयो भनेर जनताले पत्याउनु प¥यो, पार्टीले पनि मुल्यांकन गर्नुप¥यो,’ उनले भनिन्, ‘चुनावका बेला घच्ची त हान्ने हो नि !’
०००
गाउँमै एसएलसीसम्म अध्ययन गरेकी हिता अहिलेसम्म अविवाहित छिन् । उनी ९ वर्षको बालिका हुँदै बुबा गुमाइन्, १८ वर्षको हुँदा आमा पनि परलोक भइन् । परिवारमा एक जना दाजु र ६ जना दिदी छन् उनको । हिता परिवारको कान्छी छोरी हुन् ।
हिता सानो हुँदा कथित उपल्लो जातका भनिनेहरुले दलित समुदायका बालबच्चालाई पनि हेप्ने र छुवाछुत गर्दथे । अहिले पनि गाउँघरमा त्यो चलन हटेको छैन । गहमा आँसु लिएर उनले थपिन्, ‘आमाले भन्नुहुन्थ्यो, छोरी मान्छेहरु यसरी लजाएर बस्नुपर्छ । अर्काको सामुन्ने यसरी हिँड्न हुन्न । इज्जतमा दाज लाग्छ ।’
उपल्लो जातिबाट हुने दुव्र्यवहार र छुवाछुतबाट जोगिन सिकाएकी थिइन्, उनका आमाले । सानो छँदा त उनले पनि त्यो व्यवहार स्वीकारिन् । ‘पहिले त बेस्सरी छुवाछुत थियो, बिहेको भोजमा र रत्यौलीमा पनि हामीलाई उता बस्, यहाँ छोइन्छ भन्थे,’ उनले भनिन् ।
अहिले जनप्रतिनिधि भएपछि भने त्यस्तो छुवाछुतको महसुस नभएको उनले बताइन् । ‘अहिले त सबै जना सँगै खाइन्छ, हिँडिन्छ, कसैले पनि त्यस्तो व्यवहार गरेका छैनन्, पछाडि कुरा गर्नेहरुको त के पछि लाग्नु छ र,’ उनले भनिन् । गाउँमा पनि छुवाछुतको घटना पहिले भन्दा कम भएको उनको अनुभव छ ।
परिवारले उनको विवाह गर्न धेरै दबाब दिएका थिए । उनलाई भने बिहे गर्ने रहर नै लागेन । आएका दबाबलाई पन्छाइन् । थरिथरिका केटा माग्न आउँदा उनले नै विवाह नगर्ने भनेर फर्काइदिएको बताइन् । ‘म केटा मान्छे जस्तै हो एक प्रकारले, अर्काको घरमा जानुपर्छ भन्ने सोच नै राखिनँ,’ उनले भनिन्, ‘आमा बितेपछि दाइले बिहे गर्नुप¥यो कान्छी भनेर फकाउनुहुन्थ्यो, मैले मान्दै मानिनँ ।’
बिहे नगरेपनि कहिल्यै एक्लो भएको अनुभूति नै गर्न नपाएको उनले बताइन् । अविवाहित नै रहेकी ठुलोकान्छी दिदी मनकुमारी उनीसँगै घरमा छिन् । उनका काँइली दिदी विष्णुमाया पनि अहिले उनीसँगै घरमा छिन् । लमजुङको सुर्यपाल बिहे गरेर गएकी विष्णुमायाका श्रीमान परिवारप्रति उत्तरदायी नभएपछि माइत गएर बहिनी हितासँग बसेकी हुन्, उनी ।
घरमा दिदीका र दाजुभाइका छोराछोरी हुर्काउँदा उनको माया पनि उतै गएछ । ‘मेरो माया तिनीहरु पट्टी नै गयो, मलाई छोराछोरी नै किन चाहियो र,’ उनले भनिन्, ‘माया त त्यही हो, आफ्नो भएन भन्ने लाग्दैन ।’





