बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गुणस्तर सुधार र भौतिक पूर्वाधार जोडेर नमुना बन्यो गलकोट मावि

गुणस्तर सुधार र भौतिक पूर्वाधार जोडेर नमुना बन्यो गलकोट मावि


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २१ २०७७, शनिबार

बागलुङ, २१ चैत– शिक्षाको गुणस्तर सुधार र भौतिक पूर्वाधारसमेत अत्याधुनिक बनाएर गलकोट मावि जिल्लाको नमुना बनेको छ । गलकोट नगरपालिका ३ मा रहेको यो विद्यालयले सरकारले तोकेका सबै सूचक पूरा गरेको दावी गरेको छ ।
‘हामीले सूचक पूरा गर्ने मात्र नभइ फरक ढंगले विद्यालयको विकास पनि गरेका छौं,’ प्रधानाध्यापक देवेन्द्र खत्रीले भने, ‘बालबालिका विद्यालयमा छिरेपछि पढिरहूँ, विद्यालयमै बसिरहूँ भन्ने बनाउन लागेका छौं ।’ अधिकांश सूचक पूरा पनि भएको उनले बताए ।
विद्यालयको हाताभित्रै कृषिको काम सिक्न पाइन्छ । औजार चिन्ने, खन्ने, तरकारी रोप्ने काम पनि विद्यार्थीले सिक्छन् । परम्परागत कृषि मात्र नभइ आधुनिक मल्टिमिडियाको प्रयोगसहितको उत्कृष्ट शिक्षण व्यवस्था पनि यहाँ छ । विद्यालयको हातामा फूलबारी र हरियाली बनाउने अभियान थालिएको खत्रीले बताए । विद्यालय सफाइदेखि चुस्त व्यवस्थापनमा शिक्षकको हात छ । नेपाल सरकारले यो विद्यालयलाई नमुनामा सूचिकृत गरेर सोही प्रकृतिको लगानी पनि गरेको छ ।
सामुदायिक भएपनि अंग्रेजी माध्यममा पढाइ, कक्षा कोठा व्यवस्थापन, प्राथमिक तहमा एउटा कक्षामा २५ जनामात्रै पढाउने, हरियाली पार्क निर्माण, खेलेर सिक्ने व्यवस्था गरिएको हो । हरेक कक्षा कोठाभित्रै शौचालय, साबुनपानीले हात धुने व्यवस्था, शुद्ध खानेपानी, जंकफुड निषेध, कम्प्युटर शिक्षा, विज्ञानका ४ थरि प्रयोगशाला र विद्यालयभित्रै संग्रहालयसमेत बनाइएको छ ।
झण्डै ५ करोडमा विद्यालयको २ वटा भवन सञ्चालनमा आइसकेको छ । विद्यालयमा सुन्तला र लालुपातेदेखि गाउँघरमा पाइने धेरै प्रकारका फूल रोपिएको उनले बताए । विरुवा रोप्ने र गोड्ने काममा पनि सबैले मिलेर काम गर्छन् । फूल र विरुवाले विद्यालयको आकर्षण थपेको स्थानीय मञ्जु चालिसेले बताइन् ।
२७ वर्षदेखि देवेन्द्र खत्री यो विद्यालयको प्रअको रुपमा क्रियाशील छन् । काठमाडौंको त्रिचन्द्र र पाटन संयुक्त क्याम्पसमा नेपाली विषय प्राध्यापन गर्दागर्दै छाडेर उनी गलकोट आएका थिए । राजधानी छाडेर घर फर्कंदा धेरैले खत्रीले गरिखाने भएन भनेर सरापेको सम्झन्छन् । तर, विद्यालयमा प्रवेश गरेपछि निरन्तरको खटाइले उनले ल्याएको परिवर्तनपछि आलोचक पनि नतमस्तक छन् ।
‘राष्ट्रिय पहिचान बनाउने अवसर त मैले छाडेकै हो, तर गाउँबाट गुणस्तरीय शिक्षा दिने योजना बनाएर फर्केको थिएँ,’ खत्रीले भने, ‘सामुदायिक विद्यालयमा पढेर पनि उत्कृष्ट स्थान पाउन सकिन्छ भन्ने सन्देश दिन खोजेका हौं ।’ त्यसका लागि सफलता मिल्दै गएको उनले बताए ।
विद्यालयका संरचना अपांग र बालमैत्री पनि बनेका छन् । माथिल्लो कक्षामा पुगेका छात्राको महिनावारीको बेला पर्ने समस्या समाधानका लागि तातोपानी सहितको स्नान गृह बनाइएको छ । उनीहरुका लागि सेनिटरी प्याड र भित्री कपडा फेर्नुपर्ने भएमा व्यवस्थापन गरिएको छ । आफ्नो कार्यकालमा सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र टुर एन्ड ट्राभल विषयको कक्षा सञ्चालन गर्ने योजना खत्रीले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->