शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकी प्रदेशसभामा बहसः ‘भ्रष्टाचारी पार्टी हुन्छ कि व्यक्ति’

गण्डकी प्रदेशसभामा बहसः ‘भ्रष्टाचारी पार्टी हुन्छ कि व्यक्ति’


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २८ २०७७, शनिबार

पोखरा, २८ चैत– गण्डकी प्रदेशसभामा अहिले भ्रष्टाचारमाथि बहस चलिरहेको छ । प्रदेश सभाको चैत २५ गतेदेखि सुरु भएको विधान अधिवेसनमा शुरुकै दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले संघीय सरकारले भ्रष्टाचारको काण्डै काण्ड मच्चाएको आरोप लगाएका थिए ।
जवाफमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस मुलुकको समस्या भएको भन्दै अहिलेसम्म कांग्रेस नेता मात्रै भ्रष्टाचारमा जेल गएको बताएका थिए । उनले कांग्रेस भ्रष्ट पार्टीको आरोपसमेत लगाएका थिए । मुख्यमन्त्रीको उक्त अभिव्यक्तिको प्रदेशसभामा सत्तापक्षका सांसदले प्रसंशा गरेका छन् भने विपक्षी आक्रोशित बनेका छन् ।
प्रदेशसभामा अहिले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ माथि छलफल भइरहेको छ । तर सांसदको ध्यान भने को भ्रष्टाचारी भन्नेमा केन्द्रीत छ । अधिवेशनमा शुक्रबार बोल्दै कांग्रेस नेता कुमार खड्काले मुख्यमन्त्री गुरुङको अभिव्यक्तिप्रति कडा प्रतिवाद जनाए ।
उनले अहिलेको सत्तारुढ दल नेकपा एमालेले भ्रष्टाचारीलाई ढाकछोप गरेकोसमेत आरोप लगाए । अहिलेका अर्थमन्त्री विष्णु पौडेल जोडिएको बालुवाटार जग्गा काण्ड जोडेर खड्काले भने, ‘बालुवाटारको जग्गा बेच्नुहुन्छ । त्यो जग्गा लिएर थुनिनुपर्छ भनेर नाबालक छोराको नाममा जग्गा दर्ता गर्नुहुन्छ । यो भन्दा विकृत र निकृष्ट काम के हुन्छ ? नाबालग छोरा जाला जेल ? अनि त्यो जग्गा फिर्ता दिएर भ्रष्टाचारबाट उन्मुक्ति पाउनुहुन्छ ।’
खड्का यतिमै सीमित भएनन् । यदि पौडेलले उक्त जग्गा आफ्नो भएको भए राज्यले लिन नमिल्न उनले तर्क दिए । ‘उहाँ दोषी हो कि निर्दोष, त्यसको व्याख्या अदालतले गर्ला तर मेरो मनमा उब्जिएको प्रश्न के हो भने उहाँ यदि दोषी हो भने जग्गा फिर्ता दिएर कसरी उन्मुक्ति पाउनुहुन्छ ? यदि उहाँँको रगत पसिनाले कमाएको नाबालग छोराको सम्पत्ति हो भने त्यो सम्पत्ति राज्यले कसरी फिर्ता लिन मिल्छ ?’, खड्काले प्रश्न गरे ।
खड्काले संघीय सरकराले कारोना महामारीको उपचार गर्न ल्याएका औषधि र अन्य सामग्रीमा पनि भ्रष्टाचार गरेको आरोप लगाए । उनले भने, ‘ओम्नीको नाममा भ्रष्टाचार भयो । कात्रोमा पनि भ्रष्टाचार भयो भनरे हामीले चर्चा गर्छाँै । आज ती मान्छेहरु जेलभन्दा बाहिर छन् । इमान्दार हुन् त ? यति होल्डिङ्समा, ७० करोडमा आर्थिक अनियमितता भए । जेलमा छैनन् के तिनीहरु इमान्दार हुन त ? आफ्ना पार्टीका कार्यकर्तालाई संरक्षण गने, उनका अपराधलाइ उन्मुक्ति दिने अनि हामीले ती मान्छेहरु निर्दाेष हुन् । इमान्दार हुन भन्दै हिँड्ने कुराले कति अघि बढ्छाँै ।’
उनले भ्रष्टाचार पार्टीले नभई व्यक्तिले गर्नेसमेत बताए । ‘विष्णु पौडेलजीले गर्नुभएको भ्रष्टाचार सावित भयो भने एमाले पार्टी भ्रष्टाचारी पार्टी भनियो भने त्योभन्दा दुर्भाग्य केही हुन सक्दैन’, उनले भने । एमाले र कांग्रेस थुप्रै कार्यकर्ता र जनताको रगत र पसिनाले बनेको पार्टी भन्दै उनले व्यक्तिले गरेको भ्रष्टाचार पार्टीसँग जोड्न नहुन बताए ।
‘पार्टीलाई भ्रष्ट पार्टी हो भनेरभन्दा के कृष्णप्रसाद भट्टराईलाई पनि भ्रष्टाचारी भन्ने ? मनमोहन अधिकारीलाई पनि भ्रष्टाचारी भन्ने ? तपार्इँले मदन भण्डारीलाई पनि भ्रष्ट भन्ने ? तपाईँ विपी कोइरालालाई पनि भ्रष्ट भन्ने ? हामी कस्तो मार्गको अनुशरण गर्न लागेका छौँ ?’, खड्काले भने ।
वाइडबडी प्रकरणमा सत्तापक्षकै नेताले मन्त्रीले भ्रष्टाचार ग¥यो भनेकोसमेत उनले बताए । संसदीय छानविन समितिले अख्तियारले कारबाही गर्न भनेको भन्दै उनले कोरोना महामारीका बेला भएका भ्रष्टाचार मानवताविरुद्धको अपराधमा पनि कारबाही हुनुपर्ने बताए ।
भ्रष्टाचार काण्डमा व्यक्ति मुछिएपनि कांग्रेस, एमाले वा माओवादी भ्रष्टाचारी हुन नसक्ने खड्काको तर्क छ । सार्वजनिक लेखा समिति गण्डकीका सभापतिसमेत रहेका खड्काले समस्या भ्रष्टाचार हो भने भ्रष्टाचारीमाथि प्रहार गर्नुपर्ने बताए । ‘सिङ्गो रुखमा एक दुइवटा फल कुहियो भन्दैमा रुखलाई दोष देखाउने प्रवृत्ति गलत छ’, उनले भने ।
मुख्यमन्त्री गुरुङले पञ्चायतकालको ३० वर्ष विपी कोइरालाको कारण गुमेको आरोप लगाएका थिए । उक्त आरोपको जवाफ दिँदै खड्काले भने, ‘१७ सालको काण्डमा विश्वेश्वरप्रसाद कोइराला दोषी, महेन्द्र निर्दोष भन्ने अभिव्यक्ति हामीले केशरजंग रायमाझीबाट सुनेका छाँै । माननीय पृथ्वीसुब्बा गुरुङबाट सुन्न पर्दैन ।’
केशरजंगपथ को कसले अवलम्बन गरेको छ भन्ने कुरा मात्र रहेको भन्दै उनले भ्रष्टाचारीलाई रोलमोडल मान्न नहुने बताए । ‘विश्वेश्वरप्रसाद कोइरालालाई, पुष्पलाललाई, मानमोहन अधिकारीलाई, कृष्णप्रसाद भट्टराईलाई, मदन भण्डारीलाई, सुशील कोइरालालाई रोलमोडल नमान्ने, जयप्रकाश गुप्तालाई, गोविन्दराज जोशीलाई, विष्णु पौडेललाई, ईश्वर पोखरेललाई रोलमोडल मान्ने प्रवृक्तिले राजनीतिलाई सकारात्मक मार्गमा लैजादैन’, उनले भने ।
प्रदेशसभाको प्रारम्भदेखि नै मुख्यमन्त्री गुरुङले शिष्ट र शालीन अभिव्यक्ति दिएको भन्दै खड्काले अहिले आएर उदाङ्गिएको बताए । प्रदेश सरकारबाट माओवादी मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजिनामा दिएपछि सत्तारुढ सांसद मन्त्री खान बुर्कुसी मारेकोसमेत उनले आरोप लगाए ।
संघीय सरकार संविधान र पार्टी विधानभन्दा माथि रहेको अभिव्यक्ती दिइरहेको भन्दै खड्काले पाकिस्तानी शासक याइया खाँले बोलेका अभिव्यक्ति संझिए । उनले भने, ‘पाकिस्तानी शासकले राष्ट्रका नाममा संवोधन गरे । उनले संविधानका धाराहरु, ऐनका दफाहरु मेरा आदेशसँग बाझिए भने बाझिएका हदसम्म ती खारेज हुन्छन् । केन्द्रको नेतृत्व त्यही दिशामा हिँडेको छैन ?’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->