पोखरा, २८ चैत– बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ ।
९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ । एलिजावेथ गद्दीमा बस्नुभन्दा पाँच वर्षअघि सन् १९४७ मा फिलिपले उनीसँग विवाह गरेका थिए ।उनीहरुका चार सन्तान जन्मिएका थिए भने ८ नातिनातिना र १० पनाति–पनातिनी छन् । राजकुमार फिलिप १९२१ मा ग्रिसमा जन्मेका थिए । उनी १८ महिनाको छँदै उनको परिवार ग्रिसबाट विस्थापित भएको थियो । पछि उनी बेलायती नौसेनामा भर्ती भए । दोस्रो विश्वयुद्धकै क्रममा उनले राजकुमारी एलिजावेथलाई भेटेका थिए । एलिजावेथ महारानी बनेपछि राजकुमार फिलिपले नौसेनाको जागिर छाडेका थिए ।
राजा महेन्द्रको निमन्त्रणामा बेलायती महारानी एलिजाबेथ द्धितीय र उनका श्रीमान ड्युक अफ एडिन्बरा फिलिप स्न १९६१ मा नेपालको राजकीय भ्रमणमा आएका थिए । चारदिने भ्रमणको क्रमा उनीहरु पोखरा पनि आए । त्यो बेला उनीहरुको पोखरामा भव्य स्वागत गरिएको थियो । ‘त्यो बेला आमा महिला संगठनको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ एयरपोर्ट जानुभएको थियो, हामी पनि बाहिर थियौं, पोखराको घरमा कोही थिएनन्, सबै एयरपोर्ट पुगेका थिए’, डाक्टर अनिल सुवेदीले भने,‘एयरपोर्टको तल्लो लाइनमा चिया दोकानका कटेरा थिए, यहाँ भएका सबै स्कूलका विद्यार्थी उनको स्वागतमा एयरपोर्ट पुगेका थिए ।’उनका अनुसार सवारीमा राजा महेन्द्र र रानी रत्ना पनि भ्रमणमा सामेल थिए । राजा महेन्द्र र फिलिप एउटा र रानी रत्ना र एलिजाबेथ अर्को जिपमा थिए, उनीहरुको भव्य स्वागत भएको थियो । ‘एकरात बिताए । रत्नमन्दिरमा रात बिताएका उनले फेवाताल हेरे अरे, फिसिङ पनि गरे भन्ने सुनेको हो । अरु ठाउँ कहीँ गएनन् । तालको सफर गरे’, त्यो बेला रानी अगाडि र फिलिप पछाडि थिए । मेरो आमाको फोटो कसले खिच्यो भन्ने पनि थाहा छैन । ’





