पोखरा, १ वैशाख– काठमाडौंमा सम्पन्न रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा पदक जित्न सफल पोखरेली दुई खेलाडीलाई बब् जिम पोखराले सम्मान गरको छ । प्रतियोगितामा जिमका प्रशिक्षक समेत रहेकी ज्योति थापा ६० केजी तौल समुहमा प्रथम स्थान हाँसिल गर्दै ओभर अलमा च्याम्पियन बन्दा होसी जिमकै पुनम तामाङ बमजनले तृतीय स्थान हासिल गरेकी थिइन् ।
मंगलबार बब् जिममा आयोजित सम्मान समारोहमा खेलाडीद्वय थापा र तामाङलाई जिमका खेलाडी, पदाधिकारी, प्रशिक्षकलगायत शुभचिन्तकहरुले भव्य सम्मान गरेका हुन् । सम्मानपछि खुसी व्यक्त खेलाडी थापाले कम्पिटेशन सोचेको भन्दापनि राम्रो भएको बताइन् । कास्य जित्न सफल खेलाडी तामाङले नेपाली महिलाहरु पनि चुलो चौकोबाट बाहिर निस्किन सके सफलता हाँसिल गर्न सक्छन् भन्ने समाजका लागि यो उदाहरण समेत भएको बताइन् ।
जिमका प्रशिक्षक केशव उदासले जिमहलमा अहिले महिला खेलाडीहरुको सहभागिता बढ्दै गएको बताए । जिमका सञ्चालका बैभव पौडेलले आफ्नो क्लबका खेलाडीले पाएको सफलताले सम्मान दिलाएको धारणा राखे ।




