पोखरा, २ बैशाख- गण्डकीमा सरकार परिवर्तनका लागि प्रतिपक्षी दलहरुले आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि विपक्षी दलहरु अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका हुन् ।
सरकार परिवर्तन गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हाल सत्तारुढ नेकपा एमाले बाहेकका दलहरुसँग संवाद गरिरहेको छ । सरकार परिवर्तन गर्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीवीच सहमति भइसकेको छ । अविश्वासको प्रस्ताव दर्ता गर्न यी तीन दलले राष्ट्रिय जनमोर्चाको निर्णय पर्खेका थिए ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि विपक्षी दलहरु अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका हुन् । सरकार परिवर्तन गर्न बिहीबार नै अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्ने तयारी गरको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए ।
‘सरकार विरुद्ध भोलि नै अविश्वासको प्रस्ताव दर्ता गर्छौ’, उनले भने, ‘प्राविधिक हिसाबले मिलेन भने पर्सीसम्म दर्ता हुन्छ ।’
राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ । गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये स्वतन्त्र सांसद दीपक मनाङे सहित एमालेका २८ जना सांसद छन् । जनमोर्चाका ३ जना सांसदले समर्थन फिर्ता लिएपछि गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
यसअघि चैत २५ गते माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजिनामा दिएर सरकारबाट बाहिरिसकेका छन् । गण्डकीमा नयाँ सरकार गठन गर्नका लागि एमाले बाहेक अरु सबै दल मिल्नुपर्छ । नयाँ सरकार गठन गर्न नेपाली कांग्रेसका सांसद कुमार खड्काको संयोजकत्वमा अन्य दलसँग वार्ता गर्न कायदल बनाएको छ ।
कार्यदलले एमाले बाहेकको सरकार गठन गर्न दलहरुसँग सहमति गरेको संयोजक खड्काले बताए । जनमोर्चाका अध्यक्ष केसीले विपक्षी दलले ल्याउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेपछि नयाँ सरकार गठन गर्न विपक्षीले थालेको प्रयासमा बहुमत पुगेको छ ।
अध्यक्ष केसीले विपक्षीले बनाउन लागेको सरकारलाई समर्थन दिने र सरकारमा भने सहभागी नहुने स्पष्ट पारिसकेका छन् । नयाँ सरकार गठन हुदाँ कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास भएको काँग्रेस संसदीय दलका नेता नेपालीले बताए ।
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर ७ दिनपछि मात्रै छलफल अघि बढ्ने संसद सचिवालयले जनाएको छ । प्रदेश सभाको बैठक भने वैशाख ५ गते बस्दैछ । अविश्वासको प्रस्तावमा छलफल पश्चात पक्ष र विपक्षमा मतदान हुन्छ । मुख्यमन्त्री गुरुङले बहुमत कायम राख्न सकेनन् भने संसदले नयाँ सरकार गठनको घोषणा गर्ने जनाएको छ । नयाँ सरकार गठन हुँदा नेपाली कांग्रेस संसदीय दलका नेता नेपाली मुख्यमन्त्रीमा चयन हुनेछन् ।
काँग्रेसले विहिबार माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी दलसँग छलफलको तयारी गरेको छ । ‘यी तीन दलसँग छुट्टा–छुट्टै र संयुक्त बैठक बसेर हामी निर्णयमा पुग्छौं’, नेपालीले भने ।





