बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘गण्डकीमा ‘फ्लोर क्रस’को अवस्था छैन’

‘गण्डकीमा ‘फ्लोर क्रस’को अवस्था छैन’


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ४ २०७८, शनिबार

पोखरा, ४ वैशाख– कर्णाली सरकारविरुद्ध नेकपा एमालेले लगेको अविश्वास प्रस्तावको विपक्षमा एमालेकै सांसदले मतदान गरे । मुख्यमन्त्री महेन्द्र शाहीको सत्ता एमालेकै माधव नेपाल पक्षका ४ जना सांसदले फ्लोर क्रस गरेर जोगाइदिए । उक्त घटनाले शुक्रबारको राजनीति तताएको छ भने एमालेभित्र केपी ओली समुह र माधव नेपाल समुहबीचको तिक्तता झन् बढाइदिएको छ ।
गण्डकी प्रदेशमा पनि विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । गण्डकी प्रदेश सभामा माधव नेपाल समुहबाट एक जना मात्रै सांसद छन् । नेकपा बाग्लुङका अध्यक्ष समेत रहेका सांसद इन्द्रलाल सापकोटाले गण्डकीमा पनि फ्लोर क्रस गर्न सक्ने एमालेवृत्तमा चर्चा छ ।
तर, सापकोटा भने मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने कि विपक्षमा अहिल्यै निर्णय गर्नेबेला नभएको बताउँछन् । ‘मुख्यमन्त्री ज्युले विश्वासको मत लिने बेला भएको छैन, मत लिनेबेला निर्णय गर्छु,’ ढोरपाटनसँग सापकोटाले भने, ‘कर्णालीमा कुन परिस्थितिमा साथीहरुले फ्लोर क्रस गर्नुभयो मैले बुझिसकेको छैन ।’
एमालेमा चर्कंदो विग्रहले नेताहरुमा ‘विनाशकाले विपरित बुद्धि’ देखिएको सापकोटाको प्रतिक्रिया छ । अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने अवस्था गण्डकीमा नरहेको तर, पार्टी निर्णय मान्ने उनको भनाइ छ । ‘तर, मतदान गर्नुपर्ने बेलासम्म अरु निर्णय समेत हुन सक्छ,’ उनले भने ।
मुख्यमन्त्रीको सरकारको पक्षमा मतदान गर्ने कि नगर्ने ? भन्ने प्रश्नमा उनले भने, ‘अहिल्यै विश्वासको मत लिने बेला भइसकेको छैन । यो प्रश्नको जवाफ अहिल्यै दिन सक्दिन ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध विपक्षी दलहरु कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव पेश गरेका छन् । मुख्यमन्त्री गुरुङ आफ्नो पक्षमा विश्वासको मत जुटाउन काठमाडौं पुगेर शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैछन् ।
प्रदेश सभामा एमालेको सिट संख्या स्वतन्त्र सांसद दीपक मनाङे सहित २८ जना छन् । कांग्रेसको १५ जना, माओवादी केन्द्रको १२ जना, राष्ट्रिय जनमोर्चाको ३ जना र जनता समाजवादी पार्टीको २ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->