बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शैक्षिक सहयोग अभियानको करोड संकलन लक्ष्य

शैक्षिक सहयोग अभियानको करोड संकलन लक्ष्य


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७८, शनिबार

बागलुङ, ४ वैशाख– कक्षा ११ र १२ सम्मको पढाइ हुने विद्यालयलाई माविको नामाकरण भैसकेपनि गलकोट नगरपालिका–७ को जनहित माविमा कक्षा १० सम्म मात्रै पढाइ हुन्थ्यो ।
कक्षा ११ र १२ का लागि टाढा पठाउनुपर्ने बाध्यता हटाउन अभिभावक तीन वर्षदेखि सक्रिय थिए । त्यसका लागि शैक्षिक कोषको आवश्यकता थियो । भूकम्पले चिरा परेको पुरानो भवन निर्माण, कक्षा ११ को शिक्षण अनुमति र कोष स्थापनामार्फत् गुणस्तर विकासको पहिलो पाइलामा विद्यालय सफल भएको छ ।
गत वर्ष कोरोनाले कार्यक्रम रद्द भएपछि अभिभावकले नयाँवर्षको अवसर पारेर शैक्षिक सहयोग अभियान सम्पन्न गरेका हुन् । यहाँ भूकम्प पुनर्निर्माण प्राधिकरणबाट ४ कोठासहित अभिभावकको चन्दा संकलनबाट उठेको रकमको अर्को भवन पनि बनेको छ । निर्माणाधीन भवनमा कक्षा १२ सम्म पढाउन प¥र्याप्त छ । गुणस्तर सुधारका लागि भने अभिभावकले साताव्यापी शैक्षिक सहयोग अभियान चलाएका हुन् ।
‘कम्तिमा एक करोडको शैक्षिक सहयोग कोष बनाएपछि दक्ष जनशक्ती राखेर पढाइ संचालन गर्न सकिन्छ भनेर यो अभियान थाल्यौं’ अभियानका संयोजक राजबहादुर थापाले भने, ‘अहिले हामीले कोषमा झण्डै ७० लाख जम्मा गर्न सकेका छौं ।’ केही समयमै लक्ष् पूरा हुने उनले बताए ।
शैक्षिक सहयोग अभियानलाई महायज्ञ लगायतबाट उठाउने चलन छाडेर अभिभावकले कलाकारहरुको जमघट, सम्मान लगायतका कार्यक्रम गरेका थिए । देशविदेशमा बसेका अभिभावक, पूर्वविद्यार्थी र अन्य सहयोगीबाट रकम संकलन भएको अध्यक्ष ज्ञानबहादुर थापाले बताए । यो अभियानमा मल्मबाटै राष्ट्रिय तहमा ख्याति कमाएका कलाकारहरुको सम्मान कार्यक्रम पनि गरिएको थियो । उक्त सम्मान तथा उनीहरुको प्रस्तुतीकरणमा ओइरिएका अभिभावकबाट सहयोगको अभियान थालिएको हो ।
‘गाउँको विकासमा पूर्वाधार मात्रैले पुग्दैन, शैक्षिक गुणस्तर पनि चाहिन्छ भनेर हामीले यो काम थालेका हौं’, थापाले भने, ‘अब निजी श्रोत र दरबन्दीका शिक्षक समेतबाट शैक्षिक गुणस्तरको थालनी गर्छौँ ।’ निजी विद्यालयमा जाने क्रम यो अभियानले रोक्ने उनले बताए । विद्यालयमा अंग्रेजी माध्यममा पढाइ गर्ने, गुणस्तरका सूचकहरु पूरा गर्ने र पूर्वाधार अभाव हुन नदिने उनीहरुको लक्ष्य छ । भवन निर्माणलगायतको काममा समेत अभिभावकले झण्डै एक करोड लगानी गरिसकेका छन् । यो लगानीले केही वर्षमै प्रतिफल दिने गरी योजना बनाएर अगाडि बढ्ने प्रधानाध्यापक देबबहादुर खत्रीको भनाई छ ।
अहिले यहाँको जनहित कला केन्द्रको खेल मैदानलाई पनि बिद्यालयले उपयोग गरेको छ । ‘पहाडी क्षेत्र भएकोले तत्काल अर्को मैदान बनाउने ठाउँ अभाव छ, त्यसैले कला केन्द्रकै मैदान प्रयोग गर्छौ’, थापाले भने, ‘पहिलो काम गुणस्तर सुधार्ने हो, त्यसमा सफल भएपछि दोश्रो चरणमा थप पूर्वाधार खोज्नेछौं ।’ यो अभियानलाई बिदेशबाट पनि सहयोगको आश्वासन आएको छ । प्रअ खत्रीले विद्यालयमा गुणस्तर सुधार गरेर देखाउन सकेमा सहयोग जुटाउने अभियानले सफलता पाउने बताए । २०१७ सालमा स्थापना भएको जनहित मावि प्रक्रियागत दर्तामा भने २०२१ मा मात्रै प्रवेश गरेको थियो ।
लामो इतिहास बोकेको विद्यालयलाई जीर्ण र बन्द हुने अवस्थाबाट जोगाउन बालाबालिकाको बसाइ व्यवस्थापन गर्ने, अंग्रेजी भाषामा पढाउने, अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने र प्राविधिक शिक्षासहित कम्प्युटर माध्यमबाट पढाउने योजना छ । यो अभियानको सफलता भएमा बजारमा प्रतिष्पर्धी विद्यार्थी उत्पादन हुने खत्री बताउँछन् ।
केही वर्षअघि यहाँका अभिभावककै सक्रियताले बन्द भैसकेको बिद्यालय पुन संचालनमा ल्याएका छन् । सप्ताहघाटमा रहेको प्रगती आधारभूत विद्यालय नमूना बनेको छ । १२ जना विद्यार्थीमात्रै रहेकोले मर्जको निर्णय भैसकेको विद्यालयलाई अभिभावककै सक्रियतामा १ सय ५० विद्यार्थी पु¥याएर नमूना बनाउन सकिएको स्थानीय थम्मन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->