पोखरा, ५ वैशाख– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिवर्तन हुने बताएका छन् । अखिल नेपाल शिक्षक संगठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले अहिले सरकार गठन र पुनर्गठनको प्रक्रिया अनुसार शुक्रबार कर्णालीमा सरकारले अविश्वासको प्रस्ताव फेल गराएको भन्दै अब गण्डकी र लुम्बिनीमा सरकार परिवर्तन हुने बताएका हुन् ।
‘साथीहरु, हिजोमात्रै कर्णालीमा के समस्या थियो, कहाँ गएर टुँगियो ? तपाईँहरुले थाहा पाइसक्नुभएको छ । अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । र, बहुमतले सरकार परिवर्तनको लागि नयाँ मुख्यमन्त्रीको नामसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ’, प्रचण्डले भने, ‘लुम्बिनीमा पनि सरकार परिवर्तनको लागि करिब–करिब बहुमतको हस्ताक्षर संकलन भइसकेको छ ।’
गण्डकी प्रदेशमा सरकार परिवर्तन गर्न नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।
प्रचण्डले प्रदेशबाट अब केन्द्रमा भएको अन्यौलता र अराजकताको स्थिति अन्त्य गर्न लागि परेको बताए । ‘हामीले केन्द्रीय स्तरमा पनि लगातार पहल गरेका छौं’, प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले पार्टी छाडेर जानेलाई फकाउन मन लाग्न छाडेको बताए । ‘कतिपय मानिसहरु उता गए, फकाउन प¥यो भन्छन् । मलाई अचेल फकाउन मन लाग्न छोड्या छ । जाने जाउन जस्तो लाग्छ’, प्रचण्डले भने ।





