पोखरा,५ वैशाख–पोखराको स्पोर्टस क्यासल गण्डकी प्रदेश स्तरीय छनोट खेलको विजेता बन्दै ए डिभिजन राष्ट्रिय लिगको छनोट भएको छ । यस अघि नै फाइनल प्रवेश गर्दै छनोट भइसकेको क्यासलले फाइनलमा सविन मेमोरियललाई टाइब्रेकरमा ४–२ ले हराउँदै विजेता बनेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा पोखरामा हुने राष्टिय ए डिभिजन लिग फुटसल प्रतियोगिताका लागि सात प्रदेशबाटै टिम छनोट भएका हुन । गण्डकी प्रदेशमा भने ८ टिमको सहभागिता रहेको थियो ।
पोखरा रंगशाला बहुउदेश्यीय कर्भड हलमा हुने प्रतियोगिताका लागि बाग्मती प्रदेशबाट ४ टिमको सहभागिता रहने भएको छ । यस्तै गण्डकी प्रदेशबाट २, प्रदेश १, प्रदेश नं. ५,कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशबाट समान १–१ टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैँया प्राप्त गर्नेछ । भने उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ । नेपाल राष्ट्रिय फुटसल लिग नेपाली फुटसलको सबैभन्दा ठूलो फुटसल लिग हो । नेपालमा २०७४ सालमा पहिलो पटक फुटसल लिग भएको थियो । त्यस पछि लिग हुन सकेको थिएन । उक्त लिग शंखमुल फुटसलले किक अफ फुटसललाई फाइनलमा ५–२ गोल अन्तरले पराजित गर्दै जितेको थियो । विश्व फुटबल महासंघ फिफाले फुटसललाई समेत मान्यता दिएको छ । सोहि अनुरुप फुटसललाई एन्फाले व्यवसायिक बनाउने प्रयास गरिरहेको छ ।




