बागलुङ, ६ वैशाख–सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि बागलुङका १९ विद्यालय छनोट भएका छन् । बागलुङ नगरपालिकाभित्रका माध्यमिक, आधारभुत र प्राथमिक विद्यालयबाट १९ विद्यालय शैक्षिक सुधारका लागि छनोट भएका हुन् ।
विद्यालयको शैक्षिक सुधारका लागि २ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्र्तगत ती विद्यालयले बजेट पाउने भएका हुन् । ११ विद्यालयले शैक्षिक सुधारका लागि १८ लाख रुपैयाँ अनुदान पाउने छन् ।
२ विद्यालयका लागि १० लाख रुपैयाँ र बाँकी ६ विद्यालयका लागि ६ लाख ५० हजार रुपैयाँका दरले बजेट विनियोजन भएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।
१८ लाख बजेट पाउनेमा जनताधन मावि नारायणस्थान, मुलपानी मावि मुलपानी, तित्याङ मावि, त्रिभुवन मावि, महाविद्याजन मावि, कुँडुले मावि, लहरेपिपल मावि, रुद्रे पिपल मावि, मालिका मावि, जनमत मावि र शिवालय मावि छन् ।
१० लाख अनुदान पाउनेमा धवलागिरि बहिरा आवासीय मावि र सुस्त मनस्थिति कल्याण विद्यालय छन् । ६ लाख २५ हजार रुपैयाँ अनुदान पाएको पृथ्वी माविका लागि छुट्टै शिर्षक बनाएर २५ लाख रुपैयाँ थप गरिएको छ ।
सिगाना, धौलागिरी बिरेन्द्र, गणेश, कालिका कन्या र शिवालय माविले छ लाख ५० हजारका दरले शैक्षिक सुधार कार्यक्रमअन्र्तगतको अनुदान पाउने नगरपालिकाले जनाएको छ ।





