आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कठीन समयमा फक्रेका प्रतिभा : विनेशको छलाङ !

कठीन समयमा फक्रेका प्रतिभा : विनेशको छलाङ !


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ८ २०७८, बुधबार

पोेखरा, ८ वैशाख– टेबल टेनिस खेलाडी विनेश खनियाँ (२७) नेपाल प्रहरीमा आबद्ध छन् । गत वर्ष १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा उनले टिम इभेन्टमा रजत र मेन्स डबल्सतर्फ कास्य पदक जिते । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गोल्डसहित ३ पदकधारी उनै विनेश नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६÷७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधाको मनोनयनमा परेका छन् ।
आफू मनोनयनमा परेकोमा उनी असाध्यै खुसी छन् ।
सन् २००८ देखि खेलमै लागेका विनेशको जन्म लमजुङ जिल्लाको दुराडाँडा (हाल सुन्दरबजार नगरपालिका) मा भएको हो । बावु गोविन्दराज खनियाँ र आमा निर्मला खनियाँका २ छोरामध्ये उनी कान्छा हुन् । सर्वोदय मावि पढ्दाताका दाइहरुले खेलेको देखेर नजानिँदो पारामा उनमा टेबलटेनिसको मोह जाग्यो । उनको प्रतिभा फुल्ने अवसर काठमाडौंको सिद्धार्थ वनस्थलीमा पुगेर भयो । त्यहाँ उनलाई प्रशिक्षक सुरेन्द्र सुवालले तालिम दिए । बीबीएस उत्तीर्ण विनेश खेलकै सिलसिलामा विभिन्न देश पुगेका छन् । सन् २०१७ मा बंगलादेशमा आयोजित साउथ एशियन क्लबमा रजत पदक जितेर देशको नाम चम्काएका उनले सन् २०१८ मा मलेसियामा भएको १३ औं युआईटिएम इन्टरनेशनल स्पोर्टस् फेस्टामा उनले गोल्ड मेडल जिते । विनेशले आठौं राष्ट्रिय खेलकुदमा उनले स्वर्ण (मेन्स डबल्स), रजत (मिक्स डबल्स्) र कास्य (मेन्स् टिम) जितेका हुन् ।
राष्ट्रिय करिब ३ दर्जन तथा अन्तर्राष्ट्रियस्तरका झन्डै एक दर्जन प्रतियोगिता खेलिसकेका उनी हंगेरी, अष्ट्रेलिया, क्रोयसिया, थाइल्याण्ड, मलेसिया, बंगलादेश, कोरिया, भारतलगायत देश पुगेका छन् ।
कोभिड–१९ का कारण खेल क्षेत्रमा प्रभाव परेको बताउने उनी हाल काठमाडौं लैनचौरस्थित कभर्डहलमा आफूभन्दा सानालाई प्रशिक्षण दिन्छन् । प्रहरी सेवामा उनी २०७३ सालदेखि आबद्ध भएका हुन् । काठमाडौं जिल्ला टेबलटेनिस एसोसिएसनका कार्यसमिति सदस्यसमेत रहेका उनले ओलम्पिक सोलिडारिटी कोर्स, कोचका लागि टेक्निकल कोर्स, आईटिटिएफ–पिटीटी लेभल कोर्स गरेका छन् ।
पहिलाको तुलनामा अहिले खेल क्षेत्र धेरै विकास भइरहेको उनी बताउँछन् । विनेश भन्छन्, ‘खेल क्षेत्रमा खेलाडी आकर्षित गर्न सरकारले वैदेशिक तालिम दिनुका साथै खेलाडीको भविष्य सुनिश्चित गर्ने कार्यक्रम ल्याउनुपर्छ ।’ खेल क्षेत्रमा समर्पित खेलाडीहरुको प्रतिभा प्रोत्साहन गर्दै मञ्चले हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ । गण्डकी प्रदेशस्तरको सो अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्च अध्यक्ष एकराज गिरीले जानकारी दिए । वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा विनेशसहित करातेका नवीन रसाइली र फुटबलका सुमन अर्याल पनि मनोनयनमा छन् । वैशाख २० मा हुने अवार्ड समारोहमा वर्ष उत्कृष्ट खेलाडी पुरुषलाई २ लाख सहित अवार्ड प्रदान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->