पोखरा ८, वैशाख– रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रमका बिच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ , सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र र खादा सहित सम्मान गरेको हो ।
गत साता काठमाडौंमा आयोजित रूप कार्की मेमोरियल प्रथम नेपाल स्ट्रोङ्गेस्ट नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपमा पोखराका टेकेन्द्र गुरूङ र राजकुमार घोजुले स्वर्ण जितेका थिए । देशभरबाट विभिन्न तौल समूहमा गरेर १ सय २० जना खेलाडी प्रतियोगितामा सहभागी थिए ।
च्याम्पियनसिपमा गुरूङले ४० वर्षमाथि र घोजुले ५० वर्षमाथिको स्पर्धामा स्वर्ण जितेका थिए । टेकेन्द्रले स्क्वाइटमा २ सय ५ केजी, बेन्च प्रेसमा १ सय ४० केजी र डेटलिफ्टमा २ सय १५ केजी गरी ५ सय ६० केजी वजन उचालेका थिए । राजकुमारले स्क्वाइटमा १ सय ८७ केजी, बेन्च प्रेसमा १ सय १० केजी र डेटलिफ्टमा १ सय ९० केजी गरी ४ सय ८७ केजी वजन उचालेका थिए ।




