पोखरा, ११ वैशाख- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेसन आयोजक कमिटीले नेताहरुको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षीय कमिटीको बालुवाटारमा बसेको बैठकले नेताहरुलाई जिम्मेवारी तोकेको हो । बैठकले माधव नेपाल समुहलाई बाहिर राखेर १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा उपाध्यक्ष वामदेव गौतमलाई समेत समेटिएको छ ।
बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
बैठकले एमाले गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङलाई चयन गरेको छ । यसअघि एमाले र माओवादी मिलेर बनेको नेकपाको समेत प्रदेश इन्चार्ज गुरुङ नै थिए । उनी गण्डकी प्रदेशका मुख्यमन्त्री समेत हुन् ।
प्रदेशको सह– इन्चार्जमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ चयन भएका छन् । किरण वैदेशिक रोजगार सम्वद्ध संगठनका इन्चार्ज समेत तोकिएका छन् । यस्तै, गण्डकी प्रदेशको सह– इन्चार्जमा कृषिमन्त्री पद्यकुमारी अर्याल पनि तोकिएकी छिन् । उनी एमालेको कृषि तथा भूमिसुधार विभागको प्रमुख पनि भएकी छिन् ।
गण्डकी प्रदेशको सह– इन्चार्जमा लिलाबहादुर थापा मगर पनि समेटिएका छन् । पूर्वमन्त्री खगराज अधिकारी स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा स्वास्थ्य सम्वद्ध संगठनहरुको इन्चार्ज तोकिएका छन् ।
पूर्वमन्त्री जगत विश्वकर्मा गण्डकी प्रदेश कमिटीको अध्यक्ष एवं पर्वत इन्चार्ज बनेका छन् भने प्रदेश कमिटीका सचिव एवं मुस्ताङ जिल्ला इन्चार्जमा गोविन्दबहादुर नेपालीलाई तोकिएको छ ।
पोखरा महानगरका मेयर मानबहादुर जिसी कास्की जिल्ला इन्चार्ज, पोखरा महानगरका इन्चार्जमा भीमबहादुर कार्की, बागलुङ जिल्ला इन्चार्जमा मनाकुमारी केसी, लमजुङ जिल्ला इन्चार्जमा मायानाथ अधिकारी तोकिएका छन् । यस्तै, गोरखा र मनाङ जिल्ला इन्चार्जमा रामशरण बस्नेत, जिल्ला समन्वय समिति महासंघ र स्याङ्जा जिल्ला इन्चार्जमा सिताकुमारी सुन्दास चयन भएका छन् । यस्तै, तनहुँ जिल्ला इन्चार्जमा एकबहादुर राना र नवलपुर जिल्ला इन्चार्जमा तिलक महत तोकिएको छ ।





