पोखरा, १६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । स्वतन्त्र सांसद दीपक मनाङे भनिने राजिव गुरुङ युवा तथा खेलकुद मन्त्री बन्दैछन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार आजै सवा ५ बजे नवनियुक्त मन्त्रीलाई सपथ गराइँने कार्यक्रम छ । ‘मन्त्रिमण्डल विस्तार गरी आजै सपथ ग्रहण हुनेछ,’ न्यौपानेले भने , ‘दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बन्दैछन् । उहाँलाई प्रदेश नीति तथा योजना आयोगको सभाहलमा सवा ५ बजे सपथ गराउने कार्यक्रम छ ।’
सरकारविरुद्ध अविश्वास संसदमा ‘पेन्डिङ’ रहेका बेला मुख्यमन्त्रीले मन्त्रीपरिषद बिस्तारको तयारी गरेका हुन् । सरकार जोगाउने मुख्यमन्त्रीको रणनीतिका रुपमा यसलाई हेरिएको छ । हिजो संसदमा अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम भए पनि दुई सांसदको अनुपस्थितिले स्थगित भएको थियो । मनाङेले संसदमा अनुपस्थित भएर सहयोग गरेका हुनाले पुरस्कार स्वरुप मन्त्री बनाउन लागिएको हो ।
यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् । कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैंले राखेका छन् ।





