स्याङ्जा, १८ वैशाख – जिल्लाका तीन स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन् । वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाले कोरोना भाइरसको (कोभिड १९) प्रकोप बढ्दै गएकोले स्वास्थ्यलाई मध्यनजर राखेर नगरभित्रका सम्पूर्ण कार्यालय, निजी तथा गैह्रसरकारी संस्थाका साथै बैंक तथा वित्तिय संस्थाहरु बन्द गरिएको जनाएका छन् ।
स्थानीय तहका प्रमुखहरुद्धारा जारी गरिएको सूचनामा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण नगरक्षेत्रमा तिब्र रुपमा फैलिन सक्ने भएकोले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।
वालिङ नगरपालिकाका नगरप्रमुख दिलीप प्रताप खाँणद्धारा हस्ताक्षरित विज्ञप्तीमा शनिबार राति १२ बजे देखि २५ गते राति १२ बजे सम्मको लागि जनस्वास्थ्य विपद घोषणा गरिएको उल्लेख गरिएको छ । नगरभित्रका सम्पूर्ण कार्यालय संघसस्थाका साथै विद्यालयहरु र होटलहरु बन्द रहने उल्लेख छ ।
गल्याङ नगरपालिकाले शनिवार नै सूचना प्रकासित गर्दै आइतबार देखि २५ गते सम्मको लागि नगर क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ । नगरप्रमुख भुपराज अधिकारीद्धारा हस्ताक्षरित सूचनामा नगरभित्र कोरोना संक्रमण उच्च रुपमा फैलिन सक्ने भएकोले यसबाट बच्नको लागि उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।
नरपालिकाले गल्याङ नगर अस्पतालमा ५० शैयाको अक्सिजन सहितको आइसोलेसन बेड निर्माण कार्य भइरहेको समेत जनाएको छ ।
यसैगरी, चापाकोट नगरपालिकाले शुक्रबार विज्ञप्ती जारी गर्दै चापाकोट नगरपालिका अर्को सूचना नभएसम्मको लागि अत्यावश्क बाहेका सबै सेवा बन्द गरिएको जनाएको छ । नगरप्रमुख गिरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरभित्र निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।





